काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदान समय दुई घण्टा थप गरिएको छ। आज बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान १० बजे सुरु भएकाले साँझ ६ बजेसम्म समय थप गरिएको हो।
महासंघमा १ हजार ९८८ छन्। निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र सात प्रदेशबाट सात, उद्योग वाणिज्य संघबाट १८, वस्तुगत संघबाट १४, एसोसिएटबाट १९, द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट एक र संस्थापक सदस्य समूहबाट एकजना कार्यसमिति सदस्य निर्वाचित हुनेछन्।
सात प्रदेशमध्ये लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सर्वसम्मत निर्वाचित भइसकेका छन्। संस्थापक सदस्य र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट पनि सर्वसम्मत निर्वाचित भएका छन्।
वरिष्ठ उपाध्यक्षका लागि पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ र हालका उपाध्यक्षद्वय अन्जन श्रेष्ठ र रामचन्द्र संघई प्रतिस्पर्धामा छन् । उद्योग वाणिज्य, वस्तुगत र एसोसिएटमा गरी तीन उपाध्यक्षका लागि आठजनाले उमेदवारी दिएका छन्।
उद्योग वाणिज्यतर्फ उपाध्यक्षमा अरुणराज सुमार्गी, दिनेश श्रेष्ठ र सुरकृष्ण वैद्य प्रतिस्पर्धामा छन्। वस्तुगततर्फ मनीषलाल प्रधान, सुकुन्तलाल हिराचन र हेमराज ढकालले उम्मेदवारी दिएका छन् भने एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ र भरतराज आचार्य उम्मेदवार छन्।