काठमाडौं- आज बुधबार सेयर बजारले ठूलो छलाङ मारेको छ। बिहान ११ बजे कारोबार सुरु भएदेखि नै बढेको बजार ४.९३ प्रतिशत अर्थात् ९२.२ अंक बढेर १९ सय ६३ अंकमा पुगेको हो।
परिसूचकसँगै आज कारोबार रकमसमेत बढेको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा दोब्बर भएको छ। आज १ अर्ब ९७ करोड रुपैयाँको धितोपत्र कारोबार भएको छ। हिजो ९४ करोड रुपैयाँको मात्र कारोबार भएको थियो।
आज कारोबार भएका सबै २१८ कम्पनीको सेयर मूल्य बढेको छ भने सबै उपसमूहका सूचक बढेका छन्। बैंकिङ ६६, विकास बैंक १९७, फाइनान्स १०८, होटल तथा पर्यटन ११८, जलविद्युत् १२०, जीवन बीमा ४४२, उत्पादन २१८, माइक्रोफाइनान्स १७२, निर्जीवन बीमा ३४३, अन्य ४७ र ब्यापार उपसमूह ८४ अंक बढेका छन्।
आदर्श लघुवित्त, खप्तड लघुवित्त, कालिन्चोक दर्शन र गणपति लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। बलेफी हाइड्रो, सबैको लघुवित्त, सयपत्री हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जानकी फाइनान्स, रिभरफल्स पावर, आशा लघुवित्त, युनियन हाइड्रोपावर र विजय लघुवित्तको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक, नबिल बैंक, अपी पावर क्रमशः अगाडि रहे।