काठमाडौं- ५० जनालाई ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठगी आरोपमा सुनसरीको धरान उपमहानगरपालिका–१७ कि ३५ वर्षीया जुनुकला राईलाई पक्राउ गरेको हो।
राईबाट पीडित भएको भन्दै १४ जनाले लिखित र ३६ जनाले मौखिक जाहेरी दिएका थिए। राईले काठमाडौंको चाबहिलस्थित गंगाहिटीमा भिजन ड्रिमरी प्रालि अफिस खोलेर ठगी धन्दा चलाएको प्रहरीले जनाएको छ।
उनले ५० जना युवालाई विदेश भ्रमणमा पठाइदिने भन्दै पैसा उठाएकी थिइन्। उनले जनही ११ हजारदेखि ५ लाख रुपैयाँसम्म ठगी गरेको पाइएको छ। उनले ५० जनाबाट ५० लाखभन्दा बढी रकम ठगी गरेको प्रहरीले जनाएको छ।
उनले विभिन्न नेपाली सामान उत्पादन तथा बिक्री गर्ने भनेर कम्पनी खोलेको र युवालाई वैदेशिक भ्रमण तथा राम्रो ब्याजमा दिने भन्दै रकम लिएर ठगी गरेको पाइएको छ। पक्राउ परेकी राईविरुद्ध ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ।