काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको मतदान पुनः सुरु भएको छ। मतदाता तथा समर्थकहरुले एसोसिएटको मतदानस्थलमा होहल्ला गरेसँगै रोकिएको मतदान पुनः सुरु भएको हो।
महासंघको नयाँ कार्यसमिति चयनका लागि बुधबार बिहान ८ बजेदेखि सुरु हुने भनिएकोमा प्राविधिक तयारी नपुगेको भन्दै दुई घण्टा ढिला शुरु भएको थियो। जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको छ। निर्वाचनमा मोबाइल, प्रज्वलनशील पदार्थ निषेध गरिएको छ। समर्थकले वरिष्ठ उम्मेदवारको पक्षमा भोट माग्दै हुटिङ गरेका छन्। ‘भोट फर अञ्जन’, भोट फर संघई, भोट फर उमेशलाल भन्दै समर्थकले होहल्ला गरेसँगै मतदान स्थगित भएको थियो।
महासंघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ। महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने छन्। महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नेछन्।