मंगलबार, वैशाख १६, २०८२

टुटफुट र खण्डित कुरा नगर…

कास्की। टुटुफुटको अन्तहीन शृङ्खलाबाट दलहरू गुज्रिरहेका बेला कलाकारले भने एकताको स्वर मुखरित गरेका छन्
 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

काठमाडौं- टुटफुट र खण्डित कुरा नगर…
‘टुटफुट र खण्डित कुरा नगर
आत्मसर्मणको कुरा नगर
एकढिक्का एकताको कुरा गर
वीरताको कुरा गर..’

कास्की। टुटुफुटको अन्तहीन शृङ्खलाबाट दलहरू गुज्रिरहेका बेला कलाकारले भने एकताको स्वर मुखरित गरेका छन्। समाज बदल्ने अभिष्ट पूरा गर्न नेताहरूलाई एकतामा समाहित हुन उनीहरूले गीतमार्फत आह्वान गरेका हुन्।

‘राष्ट्रका लागि संगीत अभियात्रा’अन्तर्गत मंगलबार पोखरामा आयोजित सांगीतिक प्रस्तुतिमा कलाकारले गीत, नृत्य र अभिनयका माध्यमबाट समाजका विसंगतिमाथि खबरदारी गरे।

क्रान्तिका लागि सँगै लडेका कम्युनिष्ट एकापसमा विभक्त भएकामा चिन्ता पोखे। न्याय, मुक्ति र समानताका पक्षमा स्वर मिलाए। सर्वहारा वर्गका दुःख, वेदना र सङ्घर्षका कथालाई गीतमा प्रस्तुत गरे। कलाकारले कार्यक्रममा सामूहिक र बेग्लाबेग्लै प्रस्तुति दिएका थिए।

गायक कर्ण विद्रोहीको रचना, सङ्गीत र स्वर रहेको ‘टुटफुट र खण्डित कुरा नगर…’ गीत सबैले एकै स्वरमा गाए। गायक जीवन शर्माको ‘यो रातो लालटिन, हाम्रो रातो लालटिन…’ लाई पनि कलाकारले सामूहिकरूपमा प्रस्तुत गरे।

Metro Mart
worldlink

गायक शर्माले आफ्ना लोकप्रिय गीत ‘सिमली छायाँमा’, ‘झरनाको चिसो पानी’, ‘चाहिँदैन मलाई’लगायत सुनाए। गायक मोहित श्रेष्ठले ‘प्यारो जलजला’, गायिका निलीमा पुनले ‘लेख्दैछु चिठ्ठी तिमीलाई’ तथा गायक उदय श्रेष्ठले श्याम तमोटद्वारा रचित ‘पहाडका कुरा भए’ प्रस्तुत गरे।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले रचना गरेका गीत ‘जनताको काखैमा बसेर’लाई गायक चिरन पुनले गाए। गायिका अनु शर्मा, काजी गाउँलेलगायतले पनि गीत सुनाए। पोखरास्थित संगम सांस्कृतिक मञ्चका कलाकारले पनि आफ्नो प्रस्तुति प्रस्तुत गरे।

व्यवस्था फेर्न जनताले ठूलो बलिदानीपूर्ण संघर्ष गरे पनि अवस्था उस्तै रहेकाले अहिले पनि परिवर्तनका गीत गाउँदै हिँड्नुपरिरहेको गायक शर्माले बताए। “हामीले भनेजस्तो अझै भएको छैन”, उनले भने, “समाजमा अहिले पनि विभेद छ, शोषण छ, त्यसैले गीतसंगीतमार्फत खबरदारी गरिहरनुपरको हो।”

राष्ट्रिय एकताको पक्षमा आवाज बुलन्द गर्दै जनजागरण सिर्जना गर्न देशव्यापीरूपमा संगीत अभियात्रा थालिएको गायक शर्माले बताए। सो अभियानमा २२ कलाकार सहभागी छन्।

उक्त सांगीतिक समूहमा संगीतकर्मी मणिचन्द्र थापा, उदय श्रेष्ठ, माधव प्रधान, कुस्मिता दर्लामी, टेक बलम्पाकी, उदय रिजाल, लक्ष्मण पाख्रिन, नारायण शर्मा, कविता पुन, सन्ध्या मगरलगायत रहेका छन्।

अभियात्राको दशौँ कार्यक्रम पोखरामा सम्पन्न भएको गायक विद्रोहीले बताए। कार्यक्रमको स्थानीय व्यवस्थापन र समन्वयमा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठानलगायत संघसंस्थाले सघाएका थिए। पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा भएको कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिति थियो।

यही चैत ४ गते धनगढीबाट सुरु भएको संगीत अभियात्राअन्तर्गत सातै प्रदेशका राजधानीसहित ठूला सहरमा कार्यक्रम केन्द्रित गरिएको हो। आगामी वैशाख ५ गते काठमाडौँमा कम्युनिष्ट पार्टीका प्रमुख नेताहरुको उपस्थितिमा सांगीतिक अभियान समापन गरिने बताइएको छ। रासस

प्रकाशित: Apr 12, 2023| 09:45 बुधबार, चैत २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्