आइतबार, असार १, २०८२

भुक्तानी नपाउँदा रोल्पाका कृषक आन्दोलित

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

रोल्पा- जिल्लाका कृषक आन्दोलित भएका छन्। कृषि ज्ञान केन्द्र रोल्पाले अघिल्लो आर्थिक वर्षको रकम भुक्तानी नदिएको भन्दै कृषक आन्दोलित भएका हुन्। 

आर्थिक वर्ष २०७८-७९ मा सम्झौता भई काम सम्पन्न भए पनि रकम अझैसम्म भुक्तानी नपाएको किसानको गुनासो छ। कृषि ज्ञान केन्द्रबाट अघिल्लो आवमा रु तीन करोड २५ लाख ५९ हजार कृषकलाई भुक्तानी दिन बाँकी थियो। 
लुम्बिनी प्रदेश सरकारले भुक्तानी दिए पनि सङ्घीय सरकारले रु एक करोड ५७ लाख नौ हजार दिन बाँकी रहेको कृषक बताउँछन्। 

‘चालु आव सकिन लाग्दासमेत अघिल्लो वर्षको रकम भुक्तानी पाएका छैनौँ,’ आन्दोलनरत कृषक त्रिपनी वैजाली मगरले बताए। कृषकले प्रधानमन्त्री कृषि आधुनिक परियोजनाअन्तर्गत १२ ब्लकको र छ प्राङ्गारिक प्रवद्र्धन कार्यक्रमको रकम पाउन बाँकी छ। कृषकको रकम भुक्तानीका लागि आफूहरू सबै निकायमा पुगेको तर भुक्तानी प्रक्रियामा उदासिनता देखाउदा आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ। 

‘सङ्घीय सरकारको कृषि मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री आधुनिक कृषि परियोजनालगायतका विभिन्न निकायमा ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाए पनि सुनुवाइ भएन,’ उनले भने। आफूहरूको मागप्रति राजनीतिक दल पनि उदासिन रहेको कृषकको गुनासो छ। कृषि ज्ञान केन्द्रमा लामो समयदेखि कार्यालय प्रमुख छैनन्। 

तत्कालीन कार्यालय प्रमुख राहुल पाण्डे सरुवा भएपछि आएका अरविन्दमणि त्रिपाठीसमेत कार्यालयमा अनुपस्थित भएपछि कार्यालय प्रमुखविहीन बनेको हो।

प्रकाशित: Apr 11, 2023| 22:46 मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्