मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आरोपहरु खण्डन गर्दै गभर्नर अधिकारीले भने- राष्ट्र बैंक हिजो पनि प्रोफेसनल थियो, आज पनि छ र भोलि पनि रहन्छ

आरोपहरु खण्डन गर्दै गभर्नर अधिकारीले भने- राष्ट्र बैंक हिजो पनि प्रोफेसनल थियो, आज पनि छ र भोलि पनि रहन्छ

नेकपा एमाले सरकारमा हुँदा गभर्नर नियुक्त भएका थिए अधिकारी। त्यही कारण उनीमाथि राजनीतिक आस्थाका आधारमा नीतिनियम लागू गर्ने आरोप लाग्दै आएको छ।
 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राजनीतिक आस्थाका आधारमा केन्द्रीय बैंकले नीतिनियम बनाएर कार्यान्वयन गरिरहेको आरोपको खण्डन गरेका छन्। गभर्नर अधिकारीले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो आरोपको खण्डन गरेका हुन्।

उनले कुनै पनि नीति निर्माण तत्कालीन आर्थिक अवस्था हेरेर गरिने अभ्यास रहेको स्पष्ट पारे। उनले भने, 'कुनै एउटा नीति बनाउँदा २० जनाभन्दा बढीसँग परामर्श र छलफल गरेर बनाइन्छ। कुनै पनि नीति अर्थतन्त्रलाई हेरेर बनाइन्छ।’ गभर्नर अधिकारीले आफ्नो व्यवसायिक स्वार्थ पूरा नभएपछि गलत आरोप लगाइएको बताए। उनले भने ‘राष्ट्र बैंक हिजो पनि प्रोफेसनल संस्था थियो, आज पनि छ र भोलि पनि रहन्छ।’

नेकपा एमाले सरकारमा हुँदा गभर्नर नियुक्त भएका थिए अधिकारी। त्यही कारण उनीमाथि राजनीतिक आस्थाका आधारमा नीतिनियम लागू गर्ने आरोप लाग्दै आएको छ। उनले लिएको नीति एमाले आउँदा नरम र अरु आउँदा कडा हुने गरेको आरोप कतिपयले लगाउने गरेका छन्। 

पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले कोभिडकालमा नोट छापेरै दिइएको पुनर्कर्जाका सम्बन्धमा पनि प्रष्टीकरण दिए। ‘नेपालीहरुको एउटा रोग के छ भने आफ्नो व्यावसायिक स्वार्थ पूरा भएन भने अरुलाई दोष दिइहाल्ने। राष्ट्र बैंक छ र दोष दिन पाइएको छ। एक हिसाबले यो विश्वास भएर पनि होला।’

उनले कोभिडकालको समय सम्झिँदै भने, 'त्यो बेला आउजाउ बन्द थियो। सार्वजनिक यातायात बन्द थियो। एयरलाइन्स बन्द थिए। मान्छेहरु यहाँबाट हिँडेर सुदूरपश्चिमसम्म जानुपरेको थियो। थन्किएको बस चलाउन २ लाख रुपैयाँ मागियो, राष्ट्र बैंकले नदिनु भन्ने हो र ? त्यतिबेला गरेको सहयोगले आर्थिक गतिविधिदेखि सामाजिक गतिविधिसम्म चलायमान भयो। त्योबेला दिइएको पुनर्कर्जा एकदमै आवश्यक परेकाहरुलाई दिएका थियौं।’ उनले त्यसबेला गएको पुनर्कर्जा केही दुरुपयोग भयो कि भनेर अहिले अध्ययनसमेत गर्न थालिएको जानकारी दिए। 

Metro Mart
worldlink

मंगलबार नै राष्ट्र बैंकले चालु आवको फागुनसम्मको आर्थिक तथा वित्तीय विवरण सार्वजनिक गरेको छ। तथ्यांक सार्वजनिक गर्दै गभर्नर अधिकारीले ब्याजदर घटाउने वा बढाउने आफ्नो हातमा नभएको बताए। बजारमा उपलब्ध तरलता, ऋणीको जोखिम हेरेर बैंकहरुले नै ब्याज निर्धारण गर्ने भन्दै उनले राष्ट्र बैंकले ब्याज बजारलाई २०४६ सालबाटै छाडेको स्पष्ट पारे।

उनले बजारमा तरलता सुधार हुँदै गएकोतर्फ संकेत गर्दै बजारले नै ब्याजदर निर्धारण गर्ने दोहोर्‍याए। बैंकहरुको स्प्रेड दर घटाएर आम सर्वसाधारणलाई फाइदा पुर्‍याउने राष्ट्र बैंकको उद्देश्य रहेको भन्दै उनले साना ऋणीहरुका लागि आधार दरमा २ प्रतिशतसम्म मात्र प्रिमियम लिन पाउने व्यवस्थाका बारेमा स्मरण गराए।

उनले बाह्य क्षेत्रमा सुधार आएको भन्दै त्यो उपलब्धीलाई रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताए। गभर्नरले विकसित अर्थतन्त्रहरुमा समेत बैंक डुबेका घटनाहरु देखाउँदै नेपालमा भने त्यो अवस्था नरहेको बताए। उनले नेपालका बैंकहरुको पुँजी पर्याप्तता अनुपात १३ प्रतिशत माथि रहेको, खुद तरलता अनुपात २३ प्रतिशत माथि रहेको, खराब ऋण अनुपात २.६३ प्रतिशत मात्र रहेकोले तथ्यांक प्रस्तुत गरे। ‘यो नेपाली बैंकको सुदृढ पक्ष हो। नेपाली बैंक सबल छन्। सुरक्षित छन्,’ उनले भने।

त्यस अवसरमा राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले माघ र फागुनमा ऋणको ब्याज दर स्थिर रहेको, निक्षेप र आधार दर घट्दो क्रममा रहेकाले ब्याजदर घट्दो प्रवृत्तिमा गएको बताए।श्रेष्ठले बाटो जति मोडिन्छ गाडी त्यतै मोड्नुपर्ने भन्दै आगामी दिनमा तथ्यांकले जे भन्छ त्यही अनुसार नीति लिइने स्पष्ट पारे।

प्रकाशित: Apr 11, 2023| 16:59 मंगलबार, चैत २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्