काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र संकटमा रहेको भन्दै त्यसलाई तत्काल सुधार गर्नु पर्ने बताएका छन्।
महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा ढकालले विगतमा लिइएका कतिपय नीतिका कारण अर्थतन्त्रमा संकट आएको बताए। अवस्था भयावह हुनुअघि नै सकारात्मक पहल थाले समाधान निस्कने उनको भनाइ थियो।
उनले केही नीतिगत काम गरे केही महिनामै अर्थतन्त्र लयमा फर्किने दाबी गरे। राष्ट्र बैंक र सरकारले केही सहजीकरण गरे समस्या समाधान हुने उनको भनाइ छ। ढकालले सरकार, नियामक र निजी क्षेत्रबीच बृहत् विमर्श गरेर समाधान निकाल्न सकिने उनले बताए। यही साधारणसभापछि ढकालले महासंघ अध्यक्षको कार्यभार सम्हाल्दैछन्।