काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिएर तिर्दिनँ भन्न नपाइने बताएका छन्। मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा उनले ऋण लिएपछि तिर्दिनँ भन्नु गलत भएको बताएका हुन्।
अर्थमन्त्री महतले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर भएर लागिपरेको पनि सुनाए। उनले अर्थतन्त्रमा केही दबाब परेको र यसमा सरकार गम्भीर रहेको बताए। अर्थतन्त्र सुधारका लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लागेको जानकारी उनले दिए। 'हामी सबैमा कमीकमजोरी छ। त्यसलाई सुधार गरेर अघि बढनुपर्छ,' उनले भने। अर्थमन्त्री महतले चालू खर्च बढाउन सरकार र निजी क्षेत्र समन्वय आवश्यक रहेको औंल्याए।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्रको समस्या समाधानका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले व्यवसायीको समस्या बुझ्ने काम गरिरहेको बताउँदै हातेमालो गरेर अगाडि बढ्नुपर्ने समयको माग रहेको बताए। व्यवसायीको समस्या धेरै भएको भन्दै उनले ब्याजदरको समस्या समाधान गर्नुपर्ने बताए। उनले प्रधानमन्त्री र अर्थमन्त्रीलाई ब्याजको समस्या समाधानको पहल गर्न आग्रह समेत गरे।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको आर्थिक संकट समाधान गर्न आफूले पहिलो क्याबिनेट बैठकबाटै निजी क्षेत्रसँगको सहकार्यमा अघि बढाउँदै लगेको बताए। आफ्नो तेस्रो कार्यकालमा धेरै आर्थिक चुनौती देखा परेको भन्दै त्यसको समाधानका लागि आफू दृढ भएर लागेको उनले बताए।
उनले भने, ‘हामी आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियाको अन्तिम अन्तिम चरणमा जाँदैछौं। मैले प्रधानमन्त्रीको जिम्मेवारी लिएलगत्तै एफएनसीसीआइ, सीएनआइ, चेम्बरलगायत निजी क्षेत्रका व्यक्तित्वहरुसँग छलफल गरेको छु। धेरै सुझावहरु लिएको छु। राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्री र प्रधानमन्त्री कार्यालयले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न धेरै छलफलहरु गर्दै आएका छौं।’