मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक संकट समाधान गर्न सरकार निजी क्षेत्र सँगै छ: प्रधानमन्त्री

आर्थिक संकट समाधान गर्न सरकार निजी क्षेत्र सँगै छ: प्रधानमन्त्री

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको आर्थिक संकट समाधान गर्न आफूले पहिलो क्याबिनेट बैठकबाटै निजी क्षेत्रसँगको सहकार्यमा अघि बढाउँदै लगेको बताएका छन्।

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभामा प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकालमा धेरै आर्थिक चुनौती देखा परेको भन्दै त्यसको समाधानका लागि आफू दृढ भएर लागेको बताए। 

उनले भने, ‘हामी आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियाको अन्तिम अन्तिम चरणमा जाँदैछौं। मैले प्रधानमन्त्रीको जिम्मेवारी लिएलगत्तै एफएनसीसीआइ, सीएनआइ, चेम्बरलगायत निजी क्षेत्रका व्यक्तित्वहरुसँग छलफल गरेको छु। धेरै सुझावहरु लिएको छु। राष्ट्र बैंकका गभर्नर, अर्थमन्त्री र प्रधानमन्त्री कार्यालयले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न धेरै छलफलहरु गर्दै आएका छौं।’

केही राजनीतिक उतारचढावले जुन गतिमा अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्नुपर्थ्यो, त्यो हुन नसकेको स्वीकार्दै प्रधानमन्त्री प्रचण्डले अब परिस्थिति फेरिएको भन्दै सरकारको सम्पूर्ण तागत अर्थतन्त्र लयमा ल्याउन खर्चिने आश्वासन दिए।

‘तरलताको समस्या, राजस्व संकलन, रेमिटेन्स र अन्य अर्थतन्त्रका सूचकहरुलाई कसरी सकारात्मक दिशा दिने भन्नेमा जोड दिनेछौं। विगत ३ महिनाको अवधिमा सन्तोष गर्ने विषय के छ भने विदेशी मुद्रा सञ्चिति बढेको छ। यो विस्तारै उत्साहजनक हुँदैछ। यो राम्रो संकेत हो। रेमिटेन्समा पनि राम्रो सुधार भएको छ। राजस्व संकलन पनि १ अर्बभन्दा तल थियो अहिले डेढ अर्बभन्दा माथि छ,’ उनले भने।

Metro Mart
worldlink

बैंक ब्याजदर कम गर्न र राजस्व संकलन वृद्धि गर्नेबारे सरकारका सबै अंगहरुसँग गम्भीर छलफल भइरहेको दाबी प्रचण्डको छ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्रको समस्या समाधानका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले व्यवसायीको समस्या बुझ्ने काम गरिरहेको बताउँदै हातेमालो गरेर अगाडि बढ्नुपर्ने समयको माग रहेको बताए। व्यवसायीको समस्या धेरै भएको भन्दै उनले ब्याजदरको समस्या समाधान गर्नुपर्ने बताए। उनले प्रधानमन्त्री र अर्थमन्त्रीलाई ब्याजको समस्या समाधानको पहल गर्न आग्रह समेत गरे।
 

प्रकाशित: Apr 11, 2023| 12:53 मंगलबार, चैत २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्