राजविराज- सप्तरीको कञ्चनरुप नगरपालिका १ बैरवामा मंगलबार बिहान आगलागी हुँदा एक घर जल्नुका साथै एक जना सख्त घाइते भएका छन्। आफ्नै घरमा खाना पकाउने क्रममा स्थानीय विनय खंगको चुल्होबाट सल्केको आगोले उनको घर जलेर नष्ट भएको छ।
सो क्रममा बाँधिएको बाछालाई खोल्न जाँदा घरधनी विनय खंग जलेर सख्त घाइते भएका छन्। खंगलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दीपक रायले जानकारी दिए। कञ्चनरुप नगरपालिकाको वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको डीएसपी रायले बताए।
यसैगरी सोमबार राति रुपनि गाउँपालिका २ पिपराहीका रामनारायण साहको घरमा बिजुलीको मिटर अचानक सर्ट भई आगलागी हुँदा घर, लत्ताकपडा, अन्य सामान जल्नुका साथै जलेर तीनवटा खसीको मृत्यु भएको छ।
यस्तै रामनारायणका भाइ शिव नारायणको घरमा पनि आगलागी भएको छ। घर, लत्ताकपडा, अन्य सामानसहित दुईवटा बाख्राको जलेर मृत्यु भएको छ। नेपाल प्रहरी, शम्भुनाथ नगरपालिकाको दमकल, मधेश प्रदेश प्रहरी तालिम केन्द्रको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।