काठमाडौं- त्रिभुवन विश्वविद्यालयले नवीकरण नगर्ने सम्बन्धनप्राप्त क्याम्पसलाई खारेजी गर्ने चेतावनी दिएको छ।
त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले सम्बन्धनप्राप्त क्याम्पसहरुलाई ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै उक्त चेतावनी दिएको हो। व्यवस्थापन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको प्राज्ञिक नियन्त्रणमा रही सम्बन्धन नवीकरण भएका त्रिविको वेबसाइटमा उल्लेखित क्याम्पस/कलेजहरूको विवरण प्रकाशित गरेको छ।
कतिपय क्याम्पसले हालसम्म पनि नवीकरण नगरेको पाइएकोले ती कलेजहरूलाई त्रिवि नियमानुसार किन खारेजी नगर्ने? सो सम्बन्धमा कुनै मनासिव कारण भए २०८० वैशाख मसान्तसम्म सम्बन्धित डीन कार्यालयहरूमा निवेदन दिन भनिएको छ।
नवीकरण भएका क्याम्पस/कलेजहरूले नवीकरणपत्र लिएको युजरनेम र पासवर्ड प्रयोग गरी त्रिवि विनियोजन शाखा चल्ती खातामा २ हजार बुझाएर अनलाइन रसिद लिन समेत अनुरोध गरिएको छ।