सोमबार, असार २, २०८२

अमेरिकामा बैंक कर्मचारीले गोली चलाउँदा ५ जनाको मृत्यु

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिलमा रहेको एक बैंकका कर्मचारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ।

ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका थिए। उनले इन्स्टाग्राममा आक्रमणको लाइभसमेत गरेका थिए।

मृत्यु हुनेमा ४० देखि ६४ वर्ष उमेर समूहका रहेका छन्। अन्य नौ जना घाइते भएका छन्। प्रहरीले तीन मिनेटभित्रै जवाफी कारबाही गर्दै आक्रमणकारीलाई गोली हानेर हत्या गरेको छ।

घाइते भएका नौ जनामध्ये एक प्रहरी पनि छन्। २६ वर्षीय निकोलास विल्टले दुई साताअघि मात्र प्रहरीमा सेवा थालेका थिए। विल्टको टाउकोमा गोली लागेको थियो। उनको मस्तिष्कको शल्यक्रिया गरिएको भए पनि अवस्था अझै गम्भीर छ। आक्रमण भएको तीन मिनेटभित्रै प्रहरीले कारबाही थालेको थियो।

घटना भएको बैंक सहरको मध्यभागमा छ। स्थानीय समयअनुसार बिहानको ८:३० बजेतिर उक्त घटना भएको थियो।

एक व्यक्तिले आफ्नी श्रीमती पनि उक्त बैंकमा कर्मचारी भएको र त्यहाँ गोली चल्न थालेपछि उनी पैसा राखिने भल्टभित्र लुकेको स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्। अन्य प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारी र प्रहरीबीच गोली हानाहान भएको थियो।

प्रकाशित: Apr 11, 2023| 10:35 मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्