विराटनगर- विराटनगर महानगरपालिकाले आउँदो वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायत सेवन गर्न निषेध गर्ने भएको छ।
गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र धुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए। ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनको भनाइ छ।
केही हप्ताअघि महानगरले धार्मिक संघसंस्था, साउन्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवं धुमपान र गुट्खा, खैनी खाएर सहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो।
विराटनगर कोसी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको प्रमुख कोइरालाले बारम्बार दोहोर्याउँदै आएका छन्। उनले महानगरले सरसफाइ, फुटपाथ नियन्त्रण, सडकलाई पार्किङ निषेध, कर संकलनलगायत अभियान सञ्चालन गरिरहेको सुनाए।
पार्किङस्थललाई व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरिने प्रमुख कोइरालाको भनाइ छ।
उनले महानगर क्षेत्रभित्र प्रेसर हर्न नबजाइदिन सरोकारवालालाई आग्रह पनि गरेका छन्। “विराटनगर हामी सबैको हो, यसलाई हामी सबै मिलेर व्यवस्थित र सभ्य सहरका रुपमा स्थापित गर्नुपर्छ”, प्रमुख कोइरालाले भने, “सहरको सुन्दरता र सभ्यतासित ध्वनि प्रदूषण पनि जोडिएको हुन्छ। महानगरले अघि सारेको अभियानमा सबैको साथ रहने मैले विश्वास लिएको छु।” रासस