सोमबार, असार २, २०८२

मर्मत गरिँदै काठमाडौंका ट्राफिक बत्ती

 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

काठमाडौं- काठमाडौं उपत्यकामा ट्राफिक बत्तीको मर्मत सुरु गरिएको छ। सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले उपत्यकाका १९ चोकमा ‘अपरेसन एण्ड मेन्टेनेन्स’ कार्यक्रम अन्तर्गत मर्मत अघि बढाएको हो।

उपत्यकाका विभिन्न स्थानमा विभिन्न समयमा जडान भएको ट्राफिक बत्ती मर्मत भइरहेको शाखाकी इञ्जिनियर आश्मा न्यौपानेले बताइन्। उनका अनुसार अहिले बानेश्वर, तीनकुने, सिंहदरबारलगायत भक्तपुरका विभिन्न चोकमा मर्मत भइरहेको छ।

‘ट्राफिक बत्तीको सञ्चालन र नियन्त्रण ट्राफिक प्रहरीले गर्ने हुँदा उहाँहरूसँग समन्यमा मर्मत भइरहेको छ’, शाखा इञ्जिनियर न्यौपानेले भनिन्।

काठमाडौं उपत्यकामा चालु आर्थिक वर्षमा थप स्थानमा बत्ती जडानको योजना नरहेको र पहिले जडान भइसकेको बत्तीलाई नै मर्मत गरेर सञ्चालन गर्ने लक्ष्य रहेको इञ्जिनियर न्यौपानेले जानकारी दिइन्।

शाखाले चालु आवमा सातदोबाटो, महालक्ष्मीस्थान, चापागाउँ दोबाटो, धोबीघाट, बल्खु र कलंकीमा ट्राफिक बत्ती जडान गरिसकेको छ। चीन सरकारको सहयोगमा विस्तार भएको चक्रपथको यो खण्डमा बत्ती जडान गरिएको हो।

सडक विभागबाहेक अरू निकायलेसमेत जडान गरेका गरी ५६ चोकमा ट्राफिक बत्ती जडान भएका छन। उपत्यकाका नगरपालिका र वडा कार्यालयले पनि आवश्यकताका आधारमा बत्ती जडान गरिरहेका छन। विभागले हालसम्म उपत्यका बाहिर भने थोरै ठाउँमा मात्रै बत्ती जडान गरेको छ।

प्रकाशित: Apr 10, 2023| 20:02 सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्