काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउन सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन्। सोमबार सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताएका हुन्।
अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले आयोजित बैठकमा प्रधानमन्त्रीले भने, ‘मैले नै यो बैठकको आयोजना गरेको हुँ। अर्थतन्त्रमा देखा परेको दबाबलाई कम गर्न लगातार छलफलमा छौं। बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौं। हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौं।’
उनले थपे, ‘विदेशी मुद्रा सञ्चितिको दबाबबाट अलि सजिलो महशुस हुँदैछ। अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ। बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत छलफल गर्ने सोच्दैछु। हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन। सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दबाबलाई सकारात्मक दिशामा लैजान सक्छौं।’
उनले अर्थतन्त्रमा संकट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै कारण जिम्मेवार रहेको बताए। ‘राजस्व संकलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रूपमा लागेका छौं। अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउँछ, त्यता जोड दिँदैछौं। घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न सक्दैनौं। त्यसकारण यसमा पनि हामी छिटै निष्कर्षमा पुग्छौं,’ प्रधानमन्त्रीले भने।
प्रधानमन्त्री प्रचण्डले बैंकबाट ऋण लिने तर तिर्दिनँ भन्नेहरूप्रति सरकार कठोर हुने स्पष्ट पारे। छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृतलगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले बैंक र कर्मचारीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवं आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरूप आफूहरू अगाडि बढ्ने बताएका थिए।
बैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम रायालगायत उपस्थित थिए।