बुधबार, वैशाख १७, २०८२

मधेशमा पनि होमस्टेको सम्भावना खोजिँदै

महोत्तरीको बर्दिबास–१४ मा स्थापना भएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बर्दिबास शाखाले यसको सम्भावनाबारे अध्ययन थालेको छ।
 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

महोत्तरी- पहाडी र हिमाली जिल्लामा फस्टाएको होमस्टे (घरबास) को मधेशमा पनि सम्भावना खोजी सुरु भएको छ।महोत्तरीको बर्दिबास–१४ मा स्थापना भएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बर्दिबास शाखाले यसको सम्भावनाबारे अध्ययन थालेको छ।

नाथम बर्दिबास शाखाका प्रमुख शिवेन्द्र मल्लिकले गौशाला–८ बेलगाछीमा घरबासको सम्भावना रहेको बताए। प्रारम्भिक चरणमा बर्दिबास वरपर घरबास सञ्चालनका लागि पूर्वाधार विकास गर्न विद्यार्थी, स्थानीय जनप्रतिनिधि र व्यवसायप्रति इच्छा भएकालाई नवलपरासीको अमलटारी र कास्कीको लुवाङ होमस्टे अभ्यासको स्थलगत अध्ययन अवलोकन गराइएको उनले बताए। 

नवलपरासी र कास्कीका घरबासको अध्ययन अवलोकनपछि गौशाला–८ का वडाअध्यक्ष भोजबहादुर दर्लामीले महोत्तरीमा पनि अभ्यास सफल हुने उल्लेख गरे। 'बस्ती नजिकै टुटेश्वरनाथ, पञ्चधुरा माईस्थान, राईमण्डलसहितका प्रसिद्ध तीर्थस्थल छन्,' दर्लामीले भने, 'घरबास सञ्चालनसँग जोडेर यी तीर्थस्थलको पर्यटकीय पूर्वाधार विकासका काम अघि बढाइनुपर्दछ।' 

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको, नजिकै सघन वन क्षेत्र र प्रसस्त खोल्साखोल्सी एवम् जलाधार क्षेत्र रहेकाले उक्त ठाउँ पर्यटकको रोजाइमा पर्ने दर्लामी बताउँछन्। नाथमसँगै गौशाला र बर्दिबास नगरपालिकाले पनि सो कार्यका लागि पहलकदमी लिनुपर्ने उनको भनाइ छ। घरबासका लागि प्रस्तावित ठाउँ गौशालामा परे पनि टुटेश्वरनाथ, पञ्चधुरा माईस्थान र राईमण्डल बर्दिबास नगरपालिकामा पर्छन्। 

बेलगाछीमा घरबास र बर्दिबासमा धार्मिकस्थल रहेकामा दुवै नगरपालिकाले समान चासो लिनुपर्ने गौशाला–१ का सन्तबहादुर आलेको भनाइ छ। बर्दिबास प्रदेशकै शैक्षिक केन्द्रका रुपमा चिनिन्छ। यसबाहेक बर्दिबास–सिन्धुली–बनेपा सडक (बिपी राजमार्ग), बर्दिबास–जलेश्वर र बर्दिबास–गौशाला–सम्सी सडकको चौरस्ता चोकसमेत भएकाले बर्दिबास व्यापारिक कारोबारको केन्द्र बन्दैछ। 

Metro Mart
worldlink

विभिन्न भाषा, संस्कृति र धर्म परम्पराको विविधता पनि बर्दिबासमा देख्न पाइन्छ। बर्दिबास (बर्दिबासचोक) र बेलगाछीबीचको दूरी झण्डै सात किलोमिटर रहेकाले बर्दिबासमा धार्मिक, शैक्षिक, व्यापारिक र अवलोकन भ्रमण प्रयोजनसँग जोडेर हुँदै आएको सघन आवतजावतलाई बेलगाछी होमस्टेसँग जोड्न सकिन्छ। त्यसैले घरबासको सम्भावनातिर पहलकदमी बढाइएको नाथम बर्दिबास शाखाले जनाएको छ। 

२०७७ मा मुख्यतः वैदेशिक रोजगारमा जान सक्ने सैद्धान्तिक र व्यावहारिक ज्ञान भएको दक्ष जनशक्ति मधेशमा बढाउन नाथमले बर्दिबासमा शाखा स्थापना गरेको हो। यस क्रममा नाथमले यहाँ स्नातक तहमा हस्पिटालिटी म्यानेजमेन्टको पठनपाठन गराउँदैछ। त्यसैले  नाथमले बेलगाछीमा घरबास सञ्चालनका लागि चासो दिएको हो। हाल यहाँ १७ जना अध्ययनरत रहेका नाथम बर्दिबास शाखा प्रमुख मल्लिकले बताए। 

'आउँदो शैक्षिक सत्रदेखि विद्यार्थीको चाप  बढ्छ', उनले भने। पछिल्लो समय बढ्दो शैक्षिक बेरोजगारी  सीपसहितको व्यावसायिक शिक्षाले घटाउने मल्लिक बताउँछन्।
- रासस

प्रकाशित: Apr 10, 2023| 06:09 सोमबार, चैत २७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्