बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • समिट प्रकरण : कीर्ते गरी जग्गा हत्याएर नक्सा पासबिनै १७ तले भवन, घर भासिएपछि छिमेकीको बिचल्ली

समिट प्रकरण : कीर्ते गरी जग्गा हत्याएर नक्सा पासबिनै १७ तले भवन, घर भासिएपछि छिमेकीको बिचल्ली

नक्सा पास समेत नगरी बिक्री सुरु गरेको समिटले उक्त जग्गा निजी व्यक्तिबाट कीर्ते गरेर हत्याएको बाहिरिएको छ। सो जग्गा इन्द्रध्वज विष्टको रहेकोमा कीर्ते हस्ताक्षर गरी समिटले आफ्नो नाममा ल्याएको खुलेको हो।
 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

काठमाडौं– शुक्रबार राति ललितपुरको कुपण्डोल हाइटमा सानोतिनो भूकम्प नै गयो। तर त्यो प्राकृतिक भूकम्प भने थिएन। कुपण्डोल हाइटमा बनिरहेको एउटा गगनचुम्बी भवनले ल्याएको विपत्ति थियो।

त्यहाँ बन्दै गरेको समिट अपार्टमेन्टसहितको १७ तले नयाँ होटलका कारण वरपरका घरमा क्षति पुगेको हो। भूकम्प गएको जसरी नै घर भासिएका छन्, भत्किएका छन्। केही दिनदेखि भवनको अन्डरग्राउन्डका लागि माटो खन्ने काम भइरहेको थियो। अन्डरग्राउन्डका लागि माटो खन्दा निकै ठूलो खाडल बनिसकेको थियो। त्यसको गहिराइले वरपरका घरमा क्षति पुर्‍याउन थालेको थियो। स्थानीयले उक्त कामले आफ्नो घरमा क्षति पुर्‍याइरहेको बताउँदै निर्माण पक्षको ध्यानाकर्षण पनि गराएका थिए। तर, निर्माण पक्षले ध्यान नदिँदा उक्त क्षेत्रमा शुक्रबार राति ठूलो भौतिक क्षति हुन पुग्यो।

कोरोना महामारीका कारण बन्द भएको समिट होटल भएको ठाउँमा पाँचतारे लक्जरी अपार्टमेन्टसहितको नयाँ होटल बन्न लागेको हो। एनई र समिट समूहसहित सीजी ग्रुपसमेतको लगानीमा सञ्चालकहरुले पुरानो होटल भत्काएर भव्य नयाँ होटल र अपार्टमेन्ट निर्माणको तयारी गरेका हुन्।

नेपालकै एलिट वर्ग र विदेशी पर्यटकलाई लक्षित गरी काठमाडौंको रैथाने नेवारी आर्किटेक्चर डिजाइनमा आधुनिक डिजाइन फ्युजन गरी १६० युनिटको लक्जरी अपार्टमेन्ट बनाउने तयारी सञ्चालकको छ, जसको ‘पर्मिट लेटर’ अर्थात् अनुमतिपत्र नगर विकास समितिको कार्यालय ललितपुरबाट जारी भइसकेको छैन। यो लेटर इस्यु भएपछि मात्रै नक्सा पासको बाटो खुला हुन्छ।

Untitled-11680934102.jpgसहरी विकास मन्त्रालयमा भवनको नक्सा पेश गरेपछि बल्ल अपार्टमेन्ट पास हुन्छ, त्यसपछि नक्सा पासको प्रक्रिया सुरु हुन्छ। तर, नक्सा पास नहुँदै समिटले परियोजना निर्माणको काम थालिसकेको छ। यति मात्रै होइन, सञ्चालकले आवास निर्माणका लागि नक्सा पास समेत नगरी बुकिङ खुला गरेर ७० प्रतिशत अपार्टमेन्ट बिक्री पनि गरिसकेका छन्। 

Metro Mart
worldlink

नक्सा पास नै नगरी बिक्री सुरु गरेको समिटले उक्त जग्गा निजी व्यक्तिबाट कीर्ते गरेर हत्याएको बाहिरिएको छ। नेपाल समयलाई प्राप्त जानकारीअनुसार ललितपुर महानगर-१ मा पर्ने कित्ता नम्बर ५८६ को २४ आना जग्गा इन्द्रध्वज विष्टको रहेकोमा उनको कीर्ते हस्ताक्षर गरी समिटले उक्त जग्गा आफ्नो नाममा ल्याएको खुलेको हो।

विष्टले २०५६ साल चैत १७ गते सनराइज सेभिङ एण्ड लोन को-अपरेटिभबाट लचिलो कर्जा शीर्षकअन्तर्गत १ वर्ष अवधिका लागि ७ लाख ऋण लिएका थिए। र, यहीँबाट सुरु हुन्छ समिटको बदमासीको शृंखला। विष्टले २०५५ कात्तिक १५ मा अहिले समिटले हडपेको ५८६ नम्बर कित्ताको २४ आनासहित ५५८ कित्ताको १० आना, ५८७ कित्ताको ५ आना र ५९० र ५९२ कित्ताको २ आना जग्गा समिट होटलको भगिनी संस्था समिट ट्रेकिङलाई लिजमा दिएका थिए। ०५६ मा जग्गा धितो राखेर उनी सनराइजबाट ऋण लिई सोही वर्ष श्रीमती अनु, छोरा ऋगध्वज र छोरी ऋचासहित सपरिवार अमेरिका गए।  यता सहकारीको ऋणको किस्ता जग्गा लिजमा लिएको समिटले नै तिरिदिने सम्झौता भयो। 

यहीँनेर समिटले बेइमानी गर्‍यो। एकातर्फ विष्ट परिवारलाई किस्ता तिरिरहेको जानकारी गराइरह्यो भने यता सनराइजलाई किस्ता तिरेन। परिणाम- २०५५ साउन १४ गते सनराइजले कान्तिपुर दैनिकमा ऋणीलाई किस्ता बुझाउन ताकेता गरी सूचना निकाल्यो। असोज २४ गते सहकारीले लिलामीका लागि प्रक्रिया सुरु गर्यो, जसबारे अमेरिकामा रहेको आफ्नो परिवार पूर्ण बेखबर रहेको इन्द्रध्वजकी श्रीमती अनु बताउँछिन्।

‘हामीलाई केही खबर गरिएन, ऋण नतिरेको पनि जानकारी गराइएन। लिलामीबारे पनि थाहा दिइएन। समिट र सहकारीको मिलेमतोमा जग्गा लिलामी प्रक्रिया अघि बढाएछन्,’ उनले भनिन्, ‘यसबारे मेरा ससुराका दुई छोरामध्ये कान्छा सोमध्वजको परिवारलाई पनि केही जानकारी दिइएन।’ झुटो कागजपत्र बनाई इन्द्रध्वजको कीर्ते हस्ताक्षर गरी जग्गा लिलामी गरिएको दाबी उनको छ।

हुन पनि भइदियो के भने, उक्त जग्गा समिटले नै लिलामीमा २४ लाख रुपैयाँ तिरेर खरिद गर्यो। उक्त लिलामी प्रक्रिया पनि ललितपुरमा भएन, काठमाडौंमा भयो। काठमाडौं महानगरपालिका-८ मा सूचना टाँस गरी जग्गा लिलामी प्रक्रिया अघि बढाइयो। समिटले इन्द्रध्वज काठमाडौं-८ सिफलस्थित बुद्धकुमारी लामाको घरमा ३ वर्षदेखि डेरामा बस्दै आएको कीर्ते कागज बनायो, जसमा त्यसबेलामा अमेरिकामा रहेका इन्द्रध्वजको कीर्ते हस्ताक्षर गरिएको छ। 

उनको परिवारले उपलब्ध गराएअनुसार इन्द्रध्वजको सही हस्ताक्षर अर्कै छ। घरभाडामा भनी गरिएको हस्ताक्षर कीर्ते भएको बताउँदै उनका छोरा ऋगध्वज भन्छन्, ‘बुबाको हस्ताक्षर नै कीर्ते गरिएको छ। बुबासहित हामी अमेरिकामा थियौं। यता तीन वर्षदेखि सिफलमा भाडामा बसेको भनी नक्कली कागज बनाइएको छ।’

यति मात्रै होइन, सनराइजले त्यतिबेला नाबालक रहेका इन्द्रध्वजका छोरा ऋगध्वजको नाममा इमेल गरेको छ। सन् २००२ मार्च ४ मा सनराइजले लेखेको मेल एड्रेस छ- डब्लूआरआईजीएचओ एट हटमेल डटकम। तर यो आफ्नो इमेल एड्रेस नभएको दाबी ऋगध्वजको छ। ‘एक त म त्यतिबेला नाबालक थिएँ, नाबालकलाई इमेल पठाएर त्यो कसरी जग्गा लिलामी प्रक्रिया अघि बढ्छ?’ उनी भन्छन्, ‘त्यसमाथि त्यहाँ उल्लेख गरिएको इमेल मेरो होइन।’

नक्सा पास समेत नगरी बिक्री सुरु गरेको समिटले उक्त जग्गा निजी व्यक्तिबाट कीर्ते गरेर हत्याएको बाहिरिएको छ। सो जग्गा इन्द्रध्वज विष्टको रहेकोमा कीर्ते हस्ताक्षर गरी समिटले आफ्नो नाममा ल्याएको खुलेको हो।

यसरी २०५९ माघ १८ गते सनराइजले इन्द्रध्वजको परिवारको अनुपस्थितिबिनै जग्गा लिलामी प्रक्रिया अघि बढायो। लिलामीबारे इन्द्रध्वजलाई मात्रै होइन, इन्द्रध्वजका भाइ सोमध्वजलाई पनि जानकारी दिइएन। जबकि, यस्तो जग्गा बैंक एवं सहकारी संस्थाले बिक्री वा अन्य केही गर्नुपर्ने भएमा अन्य अंशियारको अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने बाध्यात्मक कानुनी व्यवस्था छ। रमाइलो त के भने, सहकारीले उक्त जग्गा लिलामी त्यही संस्थालाई गर्यो, जुन संस्थाबाट इन्द्रध्वजले लिएको ऋण चुक्ता हुने सम्झौता सहकारीले गरेको थियो।

इन्द्रध्वजले उक्त जग्गा समिट होटलको भगिनी संस्था समिट ट्रेकिङलाई भाडामा लगाएका थिए। भाडाबाट प्राप्त हुने मासिक रकम ३० हजारबाट ऋणको किस्ता सोही संस्थाले तिर्नेगरी त्रिपक्षीय सम्झौतासहितको निवेदन उनले सहकारीमा दिएका थिए, जुन कुरा सहकारी आफैंले पनि स्वीकारेको छ। तर, ऋण नतिरेको भन्दै सहकारीले सोही संस्था अर्थात् समिटलाई नै जग्गा लिलामी गरिदियो।

यसरी लिलामी गर्दा समिट र सहकारीबीच मिलेमतो भएको परिवारको दाबी छ। किनभने सहकारीले लिलामीका लागि मुचुल्का खडा गर्दा कुनै स्थानीय नगरपालिकाका प्रतिनिधि त्यहाँ थिएनन्। किनभने लिलामी जग्गा भएको ललितपुर महानगरपालिकामा नभई अर्कै महानगरपालिका काठमाडौंमा भएको थियो। लिलामीमा जग्गाधनीको कुनै आफन्तको समेत उपस्थिति नगराइएको दाबी परिवारको छ।

उता आफूहरुलाई आफ्नो जग्गा लिलामी भएकोबारे जानकारी नै नभएको इन्द्रध्वजकी पत्नी अनुको भनाइ छ। इन्द्रध्वज २०५५ मा अमेरिका गएकोमा उनको त्यहीँ क्यान्सरका कारण उपचारका क्रममा मृत्यु भयो। इन्द्रध्वजको मृत्युपछि छोरा ऋगध्वजसहित नेपाल फर्किएपछि बल्ल आफूले जग्गा लिलामी भएको जानकारी पाएको अनु बताउँछिन्। नेपाल फर्किएपछि उनको परिवारले समिट होटलसहित ललितपुर महानगरपालिका (त्यसबेला उपमहानगर) र प्रहरी समेतलाई बोधार्थ गरी निवेदन दिएको छ।

उक्त जग्गामा अनुको परिवार २०६६ सालदेखि कानुनी लडाइँ लडिरहेको छ। तर, आफूहरुले न्याय नपाएको बताउँदै अनु भन्छिन्, ‘सास रहेसम्म लड्छु, एकदिन न्याय मिल्नेछ।’ 

यता समिटले अपार्टमेन्ट निर्माणको काम सुरु गर्यो। कम्पनीले प्लानिङ प्रोसेस सुरु गरे पनि त्यसको लेटर इस्यु भइसकेको छैन। नगर विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय ललितपुरमा सञ्चालकले लेटरका लागि प्रक्रिया अघि बढाएका छन्। उक्त लेटर इस्यु भएपछि मात्रै नक्सा पासको बाटो खुला हुन्छ। सहरी विकास मन्त्रालयमा भवनको नक्सा पेश गरेपछि बल्ल अपार्टमेन्ट पास हुन्छ, त्यसपछि नक्सा पासको प्रक्रिया सुरु हुन्छ। 

नगरपालिकाले नक्सा पास गरेपछि भवन निर्माणको काम अघि बढाउन मिल्छ। त्यसअगाडि ३ मिटरभन्दा ठूलो खाल्डो समेत खन्न नमिल्ने ललितपुर नगरपालिकाका वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जन बताउँछन्। ‘पर्मिट लेटर इस्यु भइसकेको छैन, हामीले रोक्का पुर्जी पठाएका छौं, काम सुरु भएको छैन भन्ने जानकारी प्राप्त भएको छ,’ उनले भने। महानगरपालिकाबाट भूमिगत र भूमिमाथि गरी दुई चरणमा नक्सा पास भएपछि त्यसअनुसार मात्रै काम अघि बढाउन पाइने उनको भनाइ छ। ‘३ मिटरभन्दा ठूलो खाल्डो खनेपछि नगरपालिकाले संरक्षण गर्छ, मापदण्ड पेश गर्छ,’ उनले भने। 

यता निर्माण सुरु भएर छिमेकीका घर भासिइसकेका छन्, भत्किसकेका छन्।  नक्सा पास पनि नभईकनै कम्पनीले अपार्टमेन्टहरु बिक्री गरिसकेको छ। ५ देखि ६ अर्ब लगानी लाग्ने अनुमान गरिएको उक्त परियोजनाका लागि कम्पनीले बैंकबाट ३ अर्ब ऋण लिएको छ। एकातर्फ बैंक ऋण र अर्कोतर्फ अग्रिम बुकिङ गरी सञ्चालकले दोहोरो रकम संकलन गरिरहेका छन्। 

कम्पनीले अपार्टमेन्ट बिक्री खुला गरेकोबारे नगर विकास प्राधिकरण ललितपुरको बैठकमा समेत सवाल उठाइएको थियो। ‘उक्त प्रश्न उठेको छ, हामी त्यसबारे अध्ययन गरिरहेका छौं,’ बैठकमा सहभागी एक सदस्यले बताए। काठमाडौं विकास उपत्यका प्राधिकरणको स्वीकृतिबिना यसरी अपार्टमेन्टको बुकिङ खुला गर्न पाइँदैन।

अघिल्लो वर्ष माघमा प्राधिकरणले प्लानिङ पर्मिट लिएर नक्सा पास गराएर मात्रै काम अघि बढाउन र त्यसपछि मात्रै प्राधिकरणको स्वीकृतिमा बुकिङ खुला गर्न सूचित गरेको थियो। अन्यथा ब्रोसर समेत ननिकाल्न प्राधिकरणले ताकेता गरेको थियो। तर समिट होटलका लागि प्लानिङ प्रोसेस अघि बढे पनि इस्यु नभईकनै कम्पनीले अपार्टमेन्ट बेच्न सुरु गरेको हो।

प्रकाशित: Apr 09, 2023| 16:45 आइतबार, चैत २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्