मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • अडियो प्रकरणमा मुछिएका सांसद श्रेष्ठलाई पार्टीको २४ घण्टे स्पष्टीकरण

अडियो प्रकरणमा मुछिएका सांसद श्रेष्ठलाई पार्टीको २४ घण्टे स्पष्टीकरण

श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ सहयोग मागेको अडियो सार्वजनिक भएको थियो।
 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले स्पष्टीकरण सोधेको हो।

'यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको छ,' प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'साथै केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न डा. श्रेष्ठलाई निर्देशन दिइएको छ।'

छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको पनि विज्ञप्तिमा उल्लेख छ। श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ सहयोग मागेको अडियो सार्वजनिक भएको थियो। अडियोमा उनले आफूहरूको भागमा स्वास्थ्य मन्त्रालय पर्ने र मन्त्रीका लागि पार्टी अध्यक्ष रवि लामिछानेलाई दुई करोड बुझाउनुपर्ने बताएका थिए। आफूसँग पैसा नभएको बताउँदै उनले अहिले एक करोड जति दिँदा हुने र एक करोडको चेक दिँदा पनि हुने बताएका थिए। 

त्यसको जवाफमा प्रसाईंले आफूले दुई करोड उपलब्ध गराउने बताएका थिए। उक्त अडियो सार्वजनिक भएपछि उनी पार्टीको कारबाहीमा परेका हुन्। अडियो केही समयअघिको हो। एमाले‍-माओवादी गठबन्धन सरकारमा रास्वपाले स्वास्थ्य मन्त्रालय दाबी गरेको थियो। मन्त्री दाबी गरे पनि उसले मन्त्रालय पाएन तर स्वास्थ्य राज्यमन्त्री भने रास्वपाकै डा. तोसिमा कार्की बनेकी थिइन्।

प्रसाईंसँग पैसा माग्ने श्रेष्ठ रास्वपाका समानुपातिक सांसद हुन्। ४६ वर्षीय उनी कास्कीका चिकित्सक हुन्। उनलाई रास्वपाले आदिवासी जनजातितर्फ पहिलो नम्बरमा राखेको थियो। उनी रास्वपाको गण्डकी प्रदेश सभापतिसमेत हुन्। उनले क्षेत्रीय अस्पताल पोखरामा कामसमेत गरेका थिए।

प्रकाशित: Apr 09, 2023| 16:28 आइतबार, चैत २६, २०७९
प्रतिक्रिया दिनुहोस्