काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने भएको छ। पार्टीको हितविपरीत काम गरेको निष्कर्षसहित पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनलाई कारबाही गर्न लागिएको हो।
रास्वपाले श्रेष्ठलाई कारबाही गरिएको पत्र संसद् सचिवालयलाई पठाउने तयारी गरेको छ। रास्वपाले स्वास्थ्यमन्त्री पाउने भएपछि श्रेष्ठको नाम चर्चामा थियो। उनले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ सहयोग मागेको अडियो सार्वजनिक भएको थियो।
अडियोमा उनले आफूहरूको भागमा स्वास्थ्य मन्त्रालय पर्ने र मन्त्रीका लागि पार्टी अध्यक्ष रवि लामिछानेलाई दुई करोड बुझाउनुपर्ने बताएका थिए। आफूसँग पैसा नभएको बताउँदै उनले अहिले एक करोड जति दिँदा हुने र एक करोडको चेक दिँदा पनि हुने बताएका थिए।
त्यसको जवाफमा प्रसाईंले आफूले दुई करोड उपलब्ध गराउने बताएका थिए। उक्त अडियो सार्वजनिक भएपछि उनी पार्टीको कारबाहीमा परेका हुन्। अडियो केही समयअघिको हो। एमाले-माओवादी गठबन्धन सरकारमा रास्वपाले स्वास्थ्य मन्त्रालय दाबी गरेको थियो। मन्त्री दाबी गरे पनि उसले मन्त्रालय पाएन तर स्वास्थ्य राज्यमन्त्री भने रास्वपाकै डा. तोसिमा कार्की बनेकी थिइन्।
प्रसाईंसँग पैसा माग्ने श्रेष्ठ रास्वपाका समानुपातिक सांसद हुन्। ४६ वर्षीय उनी कास्कीका चिकित्सक हुन्। उनलाई रास्वपाले आदिवासी जनजातितर्फ पहिलो नम्बरमा राखेको थियो। उनी रास्वपाको गण्डकी प्रदेश सभापतिसमेत हुन्। उनले क्षेत्रीय अस्पताल पोखरामा कामसमेत गरेका थिए।