बुधबार, वैशाख १७, २०८२

बालिका हत्या प्रकरण

एकैदिन दुई छोरी गुमाएपछि विक्षिप्त छ बुढा परिवार

पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले घटनाले सिंगो गाउँपालिकावासीलाई मर्माहत तुल्याएको बताए।
 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

काठमाडौं- रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका-३ रन्मा गाउँका १० वर्षीय रिमा बुढा र ८ वर्षीय काली बुढाको परिवारको आर्थिक अवस्था कमजोर थियो। सामान्य परिवारका उनीहरू आर्थिक अवस्था कमजोर भएकै कारण सानै भए पनि परिवारलाई सहज होस् भनेर यही चैत २२ गते सिस्नो टिप्न गएका थिए। उनीहरूलाई के थाहा त्यो दिननै जीवनको अन्तिम दिन हुन्छ भनेर।

रिमा-कालीका चार दिदीबहिनी र दुई दाजुभाइ हुन्। तीमध्ये रिमा साइँली र काली कान्छी हुन्। चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका उनीहरू राति अबेरसम्म पनि घर फर्केनन्। परिवारले प्रहरीलाई खबर गर्‍यो। उनीहरूको खोजी थालियो। रातभर फेला नपरेका उनीहरू चैत २३ गते गाउँ नजिकैको भिरमा मृत अवस्थामा भेटिए। 

साना नानीहरूको शव फेला परेपछि प्रहरीलाई हत्याको आशंका लाग्यो। यसको प्रमुख कारण थियो- उनीहरूले कानमा लगाएको सुनको गहना नहुनु। प्रहरीले सुन लुटपाटकै लागि बालिकाको हत्या भएको हुन सक्ने आशंकामा त्यसैतर्फ अनुसन्धान अगाडि बढाएको थियो।

नेपालगञ्जबाट हेलिकप्टरमा अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेष टोली खटिएको थियो। उनीहरूसँगै जिल्ला प्रहरी प्रमुख डीएसपी अञ्जना श्रेष्ठसहितको अनुसन्धान टोलीले घटनास्थलमै पुगेर अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा दुई किशोरीतर्फ अनुसन्धानको सुई मोडियो। घरबाट खेतमा मल ओसार्दै गरेका किशोरीहरूले एकान्त जंगलमा बालिकालाई भेटेको र सोही गहना खोस्नकै लागि हत्या गरी भीरबाट खसालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्यो। यतिबेला प्रहरीले दुई किशोरीलाई नियन्त्रणमा लिएको छ।

Metro Mart
worldlink

हत्यामा संलग्न किशोरी पनि सानै रहेको र स्थानीय नै रहेको प्रहरीले जनाएको छ। स्थानीय भएकै कारण उनीहरूको बीचमा चिनजानसमेत रहेको प्रहरीको भनाइ छ। हत्याको आरोपमा पक्राउ परेका दुई किशोरी  स्थानीय विद्यालयमा ६ र ७ कक्षामा अध्ययन गर्दै आएको प्रहरीले जनाएको छ।

पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले घटनाले सिंगो गाउँपालिकावासीलाई मर्माहत तुल्याएको बताए। 'साना बालिकाबाट साना बालिकाको नै हत्या भएको भन्ने बुझिएको छ। प्रहरीले पनि दुई किशोरीलाई पक्राउ गरेको जनाएको छ। चिनजानकै साना बालिकाहरूमा आपराधिक मानसिकता हुनु र त्यो पनि सुनको लोभले हत्या गरिनु निकै चिन्ताको विषय हो,' उनले भने।

दुई छोरीको हत्या भएपछि अहिले परिवारको अवस्था विक्षिप्त रहेको उनले बताए। एकै पटक दुई सन्तान गुमाउँदा उनीहरूका आमाबुबा बेला-बेला मुर्छा पर्ने गरेको घर्तीको भनाइ छ। उनले अपराधी सानो ठूलो जो भए पनि अपराधी नै भएको र पीडितले न्याय पाउनुपर्ने पक्षमा आफूहरू रहेको बताए। प्रहरी अनुसन्धानका क्रममा चाँडै अपराधिसम्म पुग्न सकेको भन्दै उनले खुसी व्यक्त गरे।

प्रकाशित: Apr 09, 2023| 13:44 आइतबार, चैत २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्