मंगलबार, असार ३, २०८२

सुनको लोभमा दुई बालिकाको हत्या, दुई किशोरी पक्राउ

गत बुधबार सिस्नो टिप्न भनेर पूर्वी रूकुमको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्माका दुई बालिका घरबाट निस्किए।
 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

काठमाडौं- गत बुधबार सिस्नो टिप्न भनेर पूर्वी रूकुमको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्माका दुई बालिका घरबाट निस्किए। १० वर्षीय रिमा बुढा र ८ वर्षीय काली बुढा सिस्नो टिप्न भनेर गएका भए पनि रातिसम्म घर नफर्केपछि अभिभावकले खोजी सुरु गरे।

सिस्नो टिप्न सेराबाङ गएका उनीहरू रातिसम्म घर नआएपछि अभिभावकले प्रहरीलाई समेत खबर गरेका थिए। खोजी गर्दै जाँदा स्थानीय लुपर खोलाको भिरमा उनीहरू शव फेला परेको थियो। अनुसन्धानका क्रममा प्रहरीले उनीहरू दुई दिदीबहिनीको हत्या भएको जनाएको छ।

स्थानीय दुई किशोरी ती बालिकाको हत्यामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रमुख, डिएसपी अन्जना श्रेष्ठले बालिकाहरूको हत्यामा संलग्न दुई जना किशोरीलाई पक्राउ गरिएकोमा आइतबार सार्वजनिक गरिने बताइन्।

हत्या भएका २ बालिकाले एक तोला बराबरको सुनका गहना लगाएका थिए। त्यही गहना खोस्न किशोरीहरूले बालिकाको हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ।

१४/१५ वर्षका दुई साथीले दुई बालिकालाई जंगलमा एक्लै भेटेपछि कानमा लगाएको सुन खोस्ने योजनाका साथ घाँटी न्याकेर हत्या गरेर भीरबाट खसालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

हत्याको आरोपमा पक्राउ परेका दुई किशोरी पनि स्थानीय रहेको र उनीहरू स्थानीय विद्यालयमा ६ र ७ कक्षामा अध्ययन गर्दै आएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 09, 2023| 10:19 आइतबार, चैत २६, २०७९
प्रतिक्रिया दिनुहोस्