काठमाडौं- ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीयको बिचल्ली भएको छ। शुक्रबार राति सो अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीयको भागाभाग भएको थियो।
भागेर ज्यान जोगाए पनि उनीहरुको बास उठेको छ। उनीहरुले आफूहरुको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था तत्काल गर्न माग गरेका छन्।
निर्माणाधीन अपार्टमेन्ट वरपरका घरको एक तला नै भासिएको छ। डेरा गरेर बस्नेहरू सबै भागेको र आफूहरु पनि घरमा बस्ने अवस्था नरहेको घरधनीले बताएका छन्। गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरूलाई घरबारविहीन बनाउने पक्षलाई तत्काल कारबाही गर्न उनीहरुले माग गरेका छन्।
ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले पनि सो अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरूले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छिन्। शनिबार बिहान भासिएका घरहरुको निरीक्षण गरेपछि उनले स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरिन्।
सांसद कार्कीले सो विषयमा आफूले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पनि कुरा गरेको र स्थानीयलाई न्याय दिन आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरिन्।
अपार्टमेन्ट निर्माणका क्रममा वरपरका घरहरु भासिएपछि भागदौड गर्ने क्रममा कतिपय घाइते समेत भएका छन्। उनीहरुको उपचारको व्यवस्था र उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि आफूले पहल गर्ने सांसद कार्कीले बताइन्।
त्यस क्षेत्रको सडकसमेत चर्किएपछि स्थानीय बासिन्दा तनावमा छन्। उनीहरूले आफूहरुको बिचल्ली हुँदा पनि निर्माण कम्पनीले आफूहरुको पीडाको सुनुवाइ नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्। स्थानीयले दबाब दिएपछि सो अपार्टमेन्टको निर्माण कार्य भने रोकिएको छ।
समिट अपार्टमेन्ट चौधरी ग्रुप र रविभक्त श्रेष्ठको संयुक्त लगानीमा निर्माण भइरहेको हो।