सोमबार, वैशाख १५, २०८२

आठ कक्षापछि पढ्नै सकस छ कमलपुरका केटाकेटीलाई 

चौकीडाँडा आधारभूत विद्यालयमा कक्षा आठको अध्ययन सकेपछि यहाँका अधिकांश विद्यार्थीले पढाइ छाड्ने गरेका छन्।
 |  शनिबार, चैत २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत २५, २०७९

चितवनको भरतपुर महानगरपालिका–२९ को कमलपुरका बालबालिका माध्यमिक तहको शिक्षाबाट वञ्चित भएका छन्।

चौकीडाँडा आधारभूत विद्यालयमा कक्षा आठको अध्ययन सकेपछि यहाँका अधिकांश विद्यार्थीले पढाइ छाड्ने गरेका छन्। भौगोलिक विकटताका करण यस क्षेत्रमा माध्यमित तहको पठनपाठन गर्ने विद्यालय नहुँदा कक्षा आठको अध्ययन पछि पढाइ छाड्ने गरेका हुन्। 

कमलपुरकी सीता परियारका चारजना छोराछोरी छन्। उनीहरुमध्ये दुईजना भरतपुरमा भाडामा बसेर पढ्छन् भने एकजना चौकीडाँडा आधारभूत विद्यालयमा र एकजना घर नजिकैको विद्यालयमा पढ्छन्। कमलपुरबाट चौकीडाँडा विद्यालय पुग्न करिब तीन घण्टा हिँड्नु पर्छ। हिँडेर आउँदा थाक्ने भएकाले पढाइमा ध्यान दिन नसक्ने परियारको भनाइ छ।

'बाहिर कोठा लिएर राखौं भने खर्चले धान्न सकिँदैन नजिकै माध्यमिक विद्यालय छैन,' उनले भनिन्, 'विद्यालय नजिक भएको यही चौकीडाँडा हो। यसमा पनि आठ कक्षासम्म मात्र पढाइ हुन्छ।' यहाँ पढिसकेपछि छोराछोरी बजार गएर पढ्न खोजे पनि अभिभावकले पढाउन नसक्ने उनको भनाइ छ।

यस्तै, गुनासो सुनाउँछिन् धनमाया सुनार पनि। उनका दुई छोरी अहिले कक्षा छ र नौमा पढ्दैछन्। उनले भनिन्, 'कोठा लिएर पढाउने क्षमता छैन।' चार हजार कोठा भाडा तिरेर रासन, पानी भरेर पढाउन सक्ने क्षमता नभएको भन्दै उनले चौकीडाडाँमा नै माध्यमिक तहको विद्यालय खोल्न आग्रह गरिन्।

Metro Mart
worldlink

यही विद्यालयमा भए जेनतेन पढ्न सक्ने भन्दै उनले भनिन्, 'कोठाभाडा तिरेर माध्यमिक तहको पढाइ गराउन सकिन्न। यहाँ मावि नभएपछि अब छोराछोरीको पढाइ सकियो।' उनले छोरी कक्षा आठ पास गरेर नौमा पुगेकी भए पनि नजिक विद्यालय नभएर पढ्न नपाएको बताइन्।

चौकीडाँडा आधारभूत विद्यालयकी निमित्त प्रध्यानाध्यापक अञ्जीला तिवारी माध्यमिक तहको पढाइ यहाँ नहुँदा आठ कक्षा पास भए पछि पढाइ छोड्ने गरेको स्वीकार गर्छिन्। भौगोलिक विकटताको हिसाबले बालबालिकालाई विद्यालय आउन समस्या भएकाले धेरैले आठ कक्षापछि पढाइ छोड्ने गरेको उनले बताइन्। प्रत्येक वर्ष कक्षा आठ उत्तीर्ण गरेका २५ देखि ३० प्रतिशत विद्यार्थीले विद्यालय छाड्ने गरेका छन्।

अभिभावकले सहरमा राखेर पढाउन सक्ने अवस्था नभएकाले विद्यालय छाड्नेको सङ्ख्या बढेको उनको भनाइ छ। 'कक्षा आठ  उत्तीर्ण भएपछि १५ किलोमिटर टाढा गएर पढ्न र पढाउन समस्या हुने भएकाले विद्यालय छाड्ने गरेका छन्,' तिवारीले भनिन्।

गत शैक्षिक सत्रमा १८ जना विद्यार्थीले कक्षा आठको परीक्षा दिएर उत्तीर्ण भएका थिए। तीमध्ये छ जनाले विद्यालय छाडेका छन्। अहिले यस विद्यालयमा  ८५ विद्यार्थी अध्ययनरत छन्। यो विद्यालय विसं २०२४ सालमा स्थापना भएको विद्यालय थियो।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भौगोलिक विकटताका कारण विद्यार्थीले विद्यालयस्तरको पढाइसमेत पूरा गर्न नसकेपछि यसको स्तरोन्नति गर्न महानगर लागिपरेको बताइन्। विद्यालयमा अहिले कक्षा आठसम्म पढाइ हुने गरेको बताउँदै उनले आगामी शैक्षिक सत्रबाट कक्षा नौको सम्बन्धन दिने तयारी गरिएको जानकारी दिइन्।

सो क्षेत्रको स्थालगत अध्ययनपछि प्रमुख दाहालले चौकीडाँडा आधारभूत विद्यालयलाई नमूना विद्यालयका रूपमा अघि बढाइने भन्दै छोराछोरीको पढाइका लागि चिन्ता लिन नपर्ने गरी महानगरले काम गर्ने बताइन्। यस क्षेत्रका बालबालिका शिक्षा लिनबाट वञ्चित हुन नपर्ने उनको भनाइ थियो।

-रासस
 

प्रकाशित: Apr 08, 2023| 20:00 शनिबार, चैत २५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्