काठमाडौं– राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षद्वय डा. पुष्पराज कँडेल र डा. गोविन्द पोखेरलले दिगोे विकासको लक्ष्य प्राप्तिका लागि सहकारीको भूमिका महत्त्वपूर्ण रहेको औंल्याएका छन्।
शनिबार राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी सम्मेलनको तेस्रो दिन पूर्वउपाध्यक्षद्वयले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहकारीबाट दिगोे विकासका लक्ष्य प्राप्ति भइरहेको बताएका हुन्।
‘नेपालले दिगो विकासमा मिश्रित किसिमको उपलब्धि हासिल गरेको छ। सहकारीको भूमिका १५औं योजनामा समेत प्रस्ट रुपमा खुलाइएको छ। सहभागितामा कुनै समस्या छै । सहकारीप्रति राज्य स्तरमा बुझाइ र समन्वयमा समस्या छ’, पूर्वउपाध्यक्ष कँडेलले भने।
कार्यपत्र प्रस्तुत गर्दै आयोगका पूर्वउपाध्यक्ष पोखरेलले सहकारीले दिगोे विकासका सबै लक्ष्य प्राप्ति गर्ने काम गरिरहेको बताए। उनले भने, ‘सहकारी क्षेत्रले न्यून आय भएका वर्गमा आर्थिक उन्नति गर्नतर्फ प्रोत्साहन गरेको हुन्छ। यसले बजार गतिशील बनाउन भूमिका खेल्छ। पुँजीवादलाई बचाउन सहकारी आवश्यक छ।’ उद्यमको प्रचार–प्रसार र पुँजी उत्पादन गर्न सहकारीले सहयोग गरेको उनको दाबी छ।
समाजमा देखिएको वर्गीय असमानतालाई बचाउन सहकारीले राम्रो भूमिका वहन गरेको राष्ट्रिय सहकारी महासंघ उपाध्यक्ष रमेश पोखरेलले बताए। सहकारीले गरिब अन्त्य, रोजगारी र उद्यमशीलतालाई जोड दिएको उनको भनाइ छ।
राज्य पुग्न नसकेका ठाउँमा सहकारी पुगेको दाबी उनको छ। सहकारी र दिगो विकासबीच अन्तरसम्बन्ध रहेको यूएनडीपीका काननी सल्लाहकार धर्मा स्वर्णकारले बताए।
नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी क्षेत्र सरकारबाटै उपेक्षित बनेको धारणा व्यक्त गरे।