मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सरकार, निजी र सहकारी क्षेत्रबीचको सहकार्य आवश्यक : वरिष्ठ उपाध्यक्ष ढकाल

सरकार, निजी र सहकारी क्षेत्रबीचको सहकार्य आवश्यक : वरिष्ठ उपाध्यक्ष ढकाल

सहकारी क्षेत्रले रोजगारी सिर्जना, वित्तीय पहँुच, वित्तीय साक्षरता, बैंक तथा वित्तीय क्षेत्रमा तरलता सहज गर्न र उत्पादनलगायत अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको ढकालको धारणा।
 |  शनिबार, चैत २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत २५, २०७९

काठमाडौं– उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार, निजी र सहकारी क्षेत्रबीच सहकार्य तथा साझेदारी आवश्यक रहेको बताएका छन्। राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी सम्मेलनमा आईएमई ग्रुपका अध्यक्षसमेत रहेका ढकालले यस्तो बताएका हुन्।

महासम्मेलनको तेस्रो दिन ‘निजी, सार्वजनिक र सहकारीबीचको साझेदारीका लागि साझा मञ्च’ विषयमा छलफल गर्दै वक्ताहरुले यसअघि सार्वजनिक तथा निजी क्षेत्रबीच मात्रै साझेदारी हुने गरे पनि अब सहकारीलाई पनि संलग्न गराउनुपर्नेमा जोड दिए। 

ढकालले भने, ‘निजी क्षेत्रले सहकारीसँग सहकार्य गरेर अगाडि बढ्न आवश्यक छ। उद्योग वाणिज्य महासंघले कृषि उद्यम केन्द्र बनाएर पनि काम गरिरहेको छ। त्यसमा सयभन्दा बढी सहकारी संलग्न छन्। यसलाई अझै प्रभावकारी ढंगले काम गर्न सकिन्छ । सहकारी र निजी क्षेत्र मिलेर जाँदा आर्थिक गतिविधि बढाउन सकिन्छ।’

ढकालले हाल बाधा अड्चनका रुपमा रहेका ऐन नियमलाई फुकुवा गरेर लगानीमा पनि सहकार्य गरेर काम गर्न सकिने बताए। सहकारी क्षेत्रले रोजगारी सिर्जना, वित्तीय पहुँच, वित्तीय साक्षरता, बैंक तथा वित्तीय क्षेत्रमा तरलता सहज गर्न र उत्पादनलगायत अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।

सहकारी क्षेत्रको कारणले नै धेरै उद्योगी व्यवसायीको आर्थिक गतिविधि बढाउन टेवा पुगेको बताउँदै उनले केही सीमित घटनाको कारण समग्र सहकारी क्षेत्रमाथि प्रश्न उठे पनि सहकारीले अर्थतन्त्र निर्माणमा उदाहरणीय काम गरेको धारणा राखे। 

Metro Mart
worldlink

उनले पछिल्लो बैंक तथा वित्तीय क्षेत्रसँगै सहकारीबाट पनि कर्जा लिएको र त्यो कर्जा तिर्नुु हुँदैन भनेर केही समूहले गलत अभियान सुरु गरेको बताउँदै त्यो एकदमै गलत कार्य भएको बताए। सर्वसाधारणले सहकारी तथा बैंक वित्तीय संस्थामा राखेको स–सानो पैसालाई कर्जाका रुपमा लिएर तिर्दिन भन्नु गलत हुने उनले सुनाए।

छलफलमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सरकारले निजी÷सार्वजनिक÷साझेदारी मोडल अगाडि सारेकामा सहकारी क्षेत्रलाई पनि त्यसमा समावेश गरिनुपर्ने बताए।

७४ लाख सदस्य, ७ खर्ब बढी पुँजी भएको र ३० हजार बढी सहकारीहरु भएको क्षेत्र सहकारी भएको र अब सहकारीलाई यो मोडलमा समावेश गराउनुपर्ने उनको भनाइ छ।

सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले सरकारले आफ्ना तर्फबाट काम गरिरहेको बताए। अर्थतन्त्रका तीन खम्बामध्ये एउटा खम्बा कमजोर भयो भने अर्थतन्त्र नै कमजोर हुने बताउँदै यसका लागि तीनवटै खम्बा बलियो हुनुपर्ने धारणा राखे।

प्रकाशित: Apr 08, 2023| 15:10 शनिबार, चैत २५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्