सोमबार, वैशाख १५, २०८२

नेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिकाको खोजी

 |  शुक्रबार, चैत २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २४, २०७९

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घर-घरमा पुगेर खोजी गर्न थालिएको छ।

वैशाखमा गर्ने भनिएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकालाई  घर-घरमा पुगेर खोज्न थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए। 

उपमहानगरपालिकाका २३ वडामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको छ। अभियान प्रभावकारी बनाउन वडा-वडामा गोष्ठी, खोप सुनिश्चितता र कार्ययोजना तयार गरिएको उनले बताए। 

चैत मसान्तसम्ममा खोप नलगाएका बालबालिकाको यकिन गरी खोप लगाइने छ। ‘वडा स्तरदेखि नै छुटेकाको खोजी गरी खोप लगाउने उद्देश्यले घरधुरी सर्वेक्षणमा जुटेका छौँ’, बस्नेतले भने। 

संयुक्त राष्ट्रसंघीय बाल विकास कोष (युनिसेफ) को सहयोगमा घरधुरी सर्वेक्षण भइरहेको छ। घरधुरी सर्वेक्षणको प्रगति र प्रभावकारिताबारे अनुगमन पनि  भइरहेको छ। हालसम्म वडा नम्बर ३, ८, १४ र २२ मा घरधुरी सर्वेक्षणको काम सकिएको छ। नियमित खोप लगाउन छुटेकाको पहिचान र विश्लेषण गर्ने गरी  कार्ययोजना बनाइएको उपमहानगरपालिकाले जनाएको छ।  

Metro Mart
worldlink

कार्यशालामार्फत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धिसमेत गरिएको छ। वडास्तरमा वडाध्यक्ष संयोजक रहने गरी बनेको खोप समन्वय समितिलाई अझ सक्रिय बनाएर अनुगमनका लागि उत्प्रेरित गरिएको छ। 

प्रकाशित: Apr 07, 2023| 19:32 शुक्रबार, चैत २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्