काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न स्थानमा आगलागी हुँदा २ करोड ८० लाख रुपैयाँ बढीको धनमाल क्षति हुनुका साथै एक जनाको मृत्यु, भएको विवरण सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार गुल्मीको मदाने गाउँपालिका–६ देउरालीका ८३ वर्षीय ज्ञानबहादुर जिसीको घरमा बिहीबार राती आगलागी हुँदा उनको मृत्यु भएको छ। आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको छ।
यस्तै, गुल्मीकै छत्रकोट गाउँपालिका–३ थुमडामका डोलराम भण्डारीको घरमा बिहीबार दिउँसो आगलागी हुँदा नगद ४७ हजार रुपैयाँ, ४ तोला बराबरको सुनका गहना, अन्नपात, लत्ताकपडा, काठपातलगायत सामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
पर्साको वीरगञ्ज महानगर–२१ स्थित मरियम लेदर फ्याक्ट्रीमा इन्जिनको तार सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा फ्याक्ट्रीमा रहेको हिटिङ रुम र फिनिसिङ गोदाम पूर्णरूपमा जलेर करिब १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
गुल्मी, पर्सा, काभ्रे, मोरङ, रुपन्देही, सप्तरीलगायत स्थानमा भएको आगलागीमा परेर करोडौं रुपैयाँको धनमालमा क्षति पुगेको हो।
प्रहरीका अनुसार काभ्रेको बनेपा नगरपालिका–७ स्थित मोहनकाजी श्रेष्ठको खाद्यान्न पसलमा गए राती आगलागी हुँदा पसलमा रहेको खाद्यान्नका सामान जलेर करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
मोरङको जहदा गाउँपालिका–७ का शिवनारायण यादवको घरमा प्रदेश १–०२–००३ त ११८४ नम्बरको ट्रयाक्टरबाट थ्रेसर लगाउने क्रममा बिहीबार दिउँसो आगलागी हुँदा घरगोठ, भान्सा घर, भाँडावर्तन, लत्ताकपडा, खाद्यान्नलगायत समान जलेर करिब ३१ लाख १४ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
प्रहरीका अनुसार रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनिया टोलका नुरैन उर्फ शेख मुनाको घरमा विद्युत् सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा उक्त आगो फैलिएर सोही ठाउँका शेख इस्तखार, शेख सदामको, शेख मेराजुल हक, शेख रेसुल आलम, शेख नेकमहमद र शेख मजिबुर रहमानको घरमा समेत आगलागी हुँदा करिब १९ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
यसैगरी रुपन्देहीको सम्मरिमाई गाउँपालिका–४ बिजगौरीस्थित २४ जनाको १७० कठ्ठा खेतमा रहेको गहुँबालीमा बिहीबार दिउँसो आगलागी हुँदा करिब १० लाख १४ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
सप्तरीको राजविराज नगरपालिका–१५ देउरी भरुवाका धर्मदेव यादवले थ्रेसर लगाउने क्रममा यादवसहित ४ जनाको घरमा बिहीबार दिउँसो आगलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, जिन्सिका सामान जलेर करिब ११ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ जगडोल पार्कस्थित हाल नम्बर नखुलेको स्कुटरमा बिहीबार राती आगलागी हुँदा स्कुटर पूर्णरुपमा जलेर नष्ट भएको छ। स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै थप अनुसन्धान अगाडि बढेको प्रहरीले बताएको छ।