काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर सात जनाले ज्यान गुमाएको विवरण सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार रामेछापको मन्थली नगरपालिका–७ कौछेनी मानेखोपस्थित सडकमा मन्थलीबाट कौछेनीतर्फ जाँदै गरेको बा११च ५५३ नम्बरको बोलेरो जिप सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ५ जनाको मृत्यु भएको छ।
दुर्घटनामा मन्थली नगरपालिका–७ कौछिनीका ८२ वर्षीया नन्दमाया भण्डारीसहित ४ जनाको घटनास्थलमै र सोही नगरपालिका कौछेनीका ५० वर्षीय दलबहादुर आले मगरको सामुदायिक अस्पताल मन्थलीमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका जिपमा सवारमध्ये ८ जनाको मन्थली अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई धुलिखेल अस्पताल काभ्रे र २ जनालाई अपांग अस्पताल जोरपाटी काठमाडौंमा थप उपचारको लागि पठाइएको छ।
सप्तरीको बोदेबर्साइन नगरपालिका–२ बैरियास्थित सडकमा को१७प९४७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–५ भाटिनका १७ वर्षीय सागर पण्डितको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जीवनज्योति अस्पताल बोदेबर्साइनमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार कैलालीको चुरे गाउँपालिका–६ ओखलढुंगास्थित सडकमा सुदूरपश्चिम प्र०१००२त५२६९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका आमथलाका ३८ वर्षीय दानबहादुर सिजालीको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।