बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भरतपुर महानगरले एकतर्फी रूपमा तटबन्ध गरेको भन्दै नवलपुरमा विरोध

भरतपुर महानगरले एकतर्फी रूपमा तटबन्ध गरेको भन्दै नवलपुरमा विरोध

 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

नवलपुर- नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदीमा भरतपुर महानगरपालिकाले एकतर्फी रूपमा तटबन्ध गरेको भन्दै गैँडाकोटवासीले विरोध गरेका छन्। ‘गैँडाकोट बचाऊँ अभियान सङ्घर्ष समिति’ ले तटबन्धको काम तत्काल रोक्न भन्दै आज गैँडाकोटको पुलचोकमा विरोध प्रदर्शनसँगै सडक अवरुद्ध गरेको छ। 

समितिले बुधबार नारायणी नदी व्यवस्थापन कार्यालयमा ज्ञापनपत्र बुझाए पनि माग सुनुवाइ नभएको भन्दै समितिले आज गैँडाकोटमा विरोध प्रदर्शन गर्दै सडक अवरुद्ध गरेको हो। समितिका संयोजक गोकुल सापकोटाले नारायणगढतर्फ गरिएको तटबन्धका कारण आउँदो बर्खायामा गैँडाकोटतर्फ डुबान तथा धनजनको ठूलो क्षति हुनेसक्ने बताए। नारायणगढमा एकतर्फी तटबन्ध बनाउन लागिएकाले त्यसलाई नरोकिए सिङ्गो गैँडाकोटवासीहरू आन्दोलित हुने उनको भनाइ छ। 

समितिले बुधबार नारायणी नदी व्यवस्थापन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएसँगै विरोधका कार्यक्रम सुरु गरेको हो। समितिका संयोजक सापकोटाले चितवनतर्फ गरिएको तटबन्ध एकपक्षीय भएको बताए। “हामीले पटक–पटक त्यो काम तत्काल रोक्न छलफल र कुराकानी गर्दै आएका थियौँ”, उनले भने, “हाम्रो आग्रहलाई नसुनेपछि बाध्य भएर हामी आन्दोलनमा उत्रिनुपरेको हो।” 

नारायणी नदी संरक्षणसँगै गैँडाकोट र नवलपुर क्षेत्रको संरक्षणका लागि नारायणगढ बजारतर्फको तटबन्धको काम तत्काल रोक्नुपर्ने सापकोटाले बताए। विरोध प्रदर्शनका क्रममा सहभागीहरूले ‘नदी मिच्न पाइँदैन’, वर्षायाममा सधैँ चोट डुबिसक्यो गैँडाकोट’, नारायणगढमा पहिले नै भयो, गैँडाकोटमा कहिले हो’ लगायतका प्लेकार्ड बोकेर नाराबाजीसमेत गरेका थिए। उनीहरूले विरोध प्रदर्शनसँगै दिउँसो १ बजेदेखि एक घण्टासम्म गैँडाकोटमा पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध गरेका थिए। 

भरतपुर महानगरपालिकाले नारायणी नदीलाई ‘सी बिच मोडल’मा विकास गर्ने भन्दै नदी किनारमा हाल झण्डै १७ करोडको लागतमा तटबन्धको काम गरिरहेको छ। गैँडाकोट र नारायणगढ जोड्ने पुलको केही माथिपट्टि नारायणी नदीकिनारमा नारायणी नदी व्यवस्थापन कार्यालयले धमाधम तटबन्ध निर्माणको काम गरेको छ। कङ्क्रिटको त्यस्तो संरचनाले नदीको बहावलाई नवलपुरतर्फ फर्काउने र गैँडाकोटमा ठूलो क्षति हुने समितिले जनाएको छ। 

Metro Mart
worldlink

नारायणगढमा निर्माण गरिएको तटबन्धका कारण नारायणीमा आएको बाढीबाट गैँडाकोटको वडा नम्बर २, ५, ६, ७ र ९ नम्बर वडा डुबानमा पर्ने जोखिम छ। गैँडाकोट क्षेत्रमा रहेका सबै राजनीतिक दलका प्रतिनिधि सम्मिलित सङ्घर्ष समितिको बैठकले नारायणगढतर्फको तटबन्ध निर्माण कार्य तत्काल रोकिनुपर्ने र यो बर्खायामपछि बृहत् अध्ययन र छलफलपछि दुवै पक्षको सहमतिमा मात्रै त्यस्तो निर्माण कार्य हुनुपर्नेमा जोड दिएको छ।
 

प्रकाशित: Apr 06, 2023| 21:40 बिहीबार, चैत २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्