काठमाडौं- सनराइज बैंकले नेपाल प्रहरी विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूलाई प्रदान गर्नका लागि छात्रवृत्ति रकम सहयोग गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ६९ लाख ८० हजार रुपैयाँ सहयोग गरेको हो। नेपाल प्रहरीका विभिन्न आठवटा विद्यालयमा अध्ययन गर्ने बहालवाला, अवकाशप्राप्त, अमर सहिद एवं अशक्त प्रहरीका जेहेन्दार सन्ततिहरूलाई उत्प्रेरणा गर्ने उद्देश्यले १५ जना विद्यार्थीलाई कक्षा चारदेखि १२ सम्म अध्ययन गर्न सहयोगस्वरूप छात्रवृत्ति प्रदान गरेको बैंकले जनाएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयमा भएको छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणा, नायब महाप्रबन्धक रविनकुमार नेपाल तथा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, नेपाल प्रहरीका विशिष्ट व्यक्तित्वहरूका साथै बैंकका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको जनाइएको छ।
सम्झौतामा बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपाल र प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकालले हस्ताक्षर गरेको बैंकले जनाएको छ। यस छात्रवृत्ति कार्यक्रमले प्रहरीका विभिन्न स्कुलमा अध्ययन गरिरहेका नेपाल प्रहरीका जेहेन्दार छोराछोरीलाई अझ अघि बढ्नका लागि थप प्रेरणा मिल्ने बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले बताए।
संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै देशव्यापी रूपमा शिक्षा, स्वास्थ्य, बैंकिङ साक्षरता, वातावरण संरक्षणलगायतका विषयमा चरणबद्ध रूपमा अघिल्लो वर्ष मात्र एक सय ५० भन्दा बढी कार्यक्रम गरेको बैंकले जनाएको छ।