चितवन- भरतपुर महानगरपालिका–२९ रु नौ करोडको लागतमा खानेपानी योजना सम्पन्न भएको छ। योजना सम्पन्न भएपछि यहाँका तीन सय ५० परिवार लाभान्वित भएका छन्। सङ्घीय सरकार र प्रदेश सरकारको रु पाँच करोड ९५ लाख, भरतपुर महानगरको एक करोड ७५ लाख तथा स्थानीयको ६२ लाख बराबरको श्रमदानबाट खानेपानी योजना निर्माण भएको हो। पाँच वर्षपछि उक्त योजना सम्पन्न भएको हो।
योजना सञ्चालनमा आएपछि लामीडाँडा, थाम डाँडा, लामा गाउँ, कमलपुर, ढुङ्ग्रे, चिप्लेटी, तल्लो चिप्लेटी, आरुबोटे र सतीडाँडाका बासिन्दा लाभान्वित भएका छन्।
स्थानीय सुशीला गुरुङले आधा घन्टाभन्दा बढी हिँडेर खानेपानी ल्याउनुपर्ने बाध्यता हटेको बताइन्। भोर्ले खोलाभन्दा माथिको गुण्डा खाालाबाट पानी ल्याउनुपर्ने बाध्यता आयोजना सञ्चालनमा आएसँगै हटेको छ। योजनाका सचिव केशव ढकालले भने, “बोत्तलमा पानी थापेर ल्याउनुपर्ने बाध्यता अब हटेको छ।”
आयोजनाअन्तर्गत एउटा मुहान रहेको छ भने ८० लाख लिटरको कलेक्सन ट्याङ्की छ। थामडाँडामा दुई लाख लिटरको वितरण ट्याङ्की निर्माण गरिएको छ। वडाध्यक्ष सूर्यबहादुर गुरुङले महानगरपालिकाको एक मात्र पहाडी क्षेत्रमा सधैँको खानेपानी समस्या समाधान भएको बताए।