काठमाडौं– मोरङको ग्रामथान गाउँपालिका–२ स्थित झोराहाटमा रहेको सरस्वती नमुना माध्यमिक विद्यालयमा राखिएको परीक्षा केन्द्रबाट एसईईको दिँदै गरेका ५२ नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
बिहीबार एसईईको सामाजिक विषयको परीक्षा दिँदै गरेका ५२ नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दिएका हो।
नक्कली परीक्षार्थीमाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए।
सरस्वती नमुना माविमा ८ वटा विद्यालयको परीक्षा केन्द्र तोकिएको छ। पक्राउ परेका विद्यार्थी विराटनगर महानगरको युनि बोर्डिङ स्कुल र सार्वजनिक माविका रहेको बताइएको छ।
उक्त केन्द्रबाट २९१ विद्यार्थीले परीक्षा दिइरहेका छन्। सरस्वती माविका ११ मध्ये ७ वटा कोठाबाट ५२ नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो।
नक्कली परीक्षार्थी भेटिएपछि घटनाको सूक्ष्म अनुसन्धान गर्न प्रहरी र शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमको टोली उक्त विद्यालयमा पुगेको छ।
परीक्षा भइरहेका बेला जाँचकीले प्रवेशपत्रको फोटोमा शंका लागेपछि परीक्षार्थीको जन्म मिति सोधेका थिए। तर भन्न नसकेपछि केरकार गर्दा उनीहरु नक्कली परीक्षार्थी रहेको फेला परेका हुन्।