शुक्रबार, वैशाख १९, २०८२

डलरको लोभ देखाएर लुटपाट गर्ने गिरोहका पाँचजना पक्राउ

मंगलबार नै यस्तै गिरोहले फर्पिङको जंगलमा १८ लाख रुपैयाँ लुटेको छ।
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं- सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ साटिदिने प्रलोभनमा श्रृङ्खलाबद्ध रुपमा लुटपाट गर्ने गिरोहका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा धादिङ सुनौलो बजार घर भई ललितपुर चापागाउँ बस्ने ३२ वर्षीय सुरेश कोइराला, सिन्धुपाल्चोक बाह्रबिसे घर भई गोकर्ण नाम्गेल बस्ने २४ वर्षीय विकाश तामाङ, २८ वर्षीय साजन तामाङ, धनकुटा बेलारा घर भई काठमाडौं भङ्गाल बस्ने ३२ वर्षीय दिपक दमाई र सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं नयाँबस्ती बस्ने ३५ वर्षीय प्रेमबहादुर तामाङ छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मङ्गलबार गोकर्णेश्वर, अत्तरखेल र नाम्खेलबाट पक्राउ गरेको हो।

उनीहरुले पीडितलाई पटकपटक फोनमार्फत सम्पर्क गरी आफूसँग अमेरिकी डलर रहेको र सस्तो दररेटमा साटिदिने प्रलोभनमा पार्ने, १ र ५० दरका अमेरिकी डलर पीडितलाई प्रत्यक्ष देखाई विश्वासमा पार्ने र सटही गर्ने बहानामा पैसा लिएर साँघुरा गल्ली, पातलो मानवबस्ती र जङ्गल आसपासको स्थानमा बोलाई झुक्याएर डलर भनी नेपाली नोट ५, १०, २० रुपैयाँ र नोट साइजको पेपर काटी रुमालमा पोको पारेर दिएर पीडितसँग भएको लाखौं रुपैयाँ लुटपाट गरी भाग्ने गरेको अनुसन्धानमा खुलेको छ।

ती व्यक्तिहरुले फरक–फरक मोबाइल नम्बरहरु प्रयोग गर्ने र लुटपाट गरिसकेपछि पहिले प्रयोग भएका मोबाइल नम्बरहरु पुनः प्रयोग नगर्ने गरेको पाइएको छ। डलर देखाई लुटपाटमा संलग्नहरुको हुलियाको आधारमा प्रहरीले नियन्त्रणमा लिई कारबाही थालेको जनाएको छ। 

Metro Mart
worldlink

मंगलबार नै यस्तै गिरोहले फर्पिङको जंगलमा १८ लाख रुपैयाँ लुटेको छ। सुरुमा बल्खु बोलाएर त्यसपछि चोभार, टौदह हुँदै फर्पिङको जंगलमा बोलाई नक्कली डलरको पोको थमाई रकम लुटेर लगेको पीडितले बताएका छन्। रुमालमा बाँधेको पोको खोलेर हेर्दा कागजमात्रै भेटिएको थियो। मंगलबारको लुटपाटमा पनि पुरानै गिरोहको संलग्नताको आशंका गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ। साथै यस्तो प्रलोभनमा नपर्न पनि प्रहरीले सचेत गराएको छ।

प्रकाशित: Apr 05, 2023| 19:47 बुधबार, चैत २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्