नवलपुर- विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डमा धमाधम कालोपत्रे भइरहेको छ। गैंडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा हाल कालोपत्रको काम भइरहेको छ।
सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडका ठेक्का व्यवस्थापक राजेश झाले हालसम्म ३ किलोमिटरभन्दा बढी सडक कालोपत्र गरिएको जानकारी दिए। ‘हामीले यस वर्ष २० किलोमिटरभन्दा बढी कालोपत्र गर्ने योजनाका साथ काम गरिरहेका छौं,’ उनले भने, ‘गैंडाकोटको भेडाबारीबाट झराही खोला, रजहरमा २ किलोमिटर क्षेत्र तथा देवचुलीको लोकाहाबाट कावासोतीको डण्डासम्म कालोपत्र गर्ने गरी काम अगाडि बढाएका छौं।’
अहिले कालोपत्र भइरहेको क्षेत्रबाहेक थप ५ किलोमिटर सडक कालोपत्रको तयारी छ।
सडक विस्तारका लागि निर्माण कम्पनीले १ हजारभन्दा बढी जनशक्ति तथा २०० बढी उपकरणको प्रयोग गरिरहेको झाले बताए। सडक विस्तारका लागि ८० टिपर, ३० एक्साभेटर, १३ सेट रोलर र १३ सेट ग्रेडर तथा डोजर सहितका उपकरणको प्रयोग गरिएको छ। डण्डास्थित अक्सपाल्ट प्लान्टबाट उत्पादित सामग्री लगेर कालोपत्रको काम भइरहेको छ।
चालू आर्थिक वर्षभित्र ५० प्रतिशत काम सक्ने लक्ष्य रहेको भए पनि वर्षात लगायत कारण काममा ढिला हुनसक्ने ठेक्का व्यवस्थापक झाले बताए।
नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनीयर धीरज ढकालले हालसम्मको प्रगति ३० दशमलव ५ प्रतिशत रहेको बताए। हाल सडकमा कल्भर्ट निर्माण लगायत काम भइरहेको छ। उनले भने, ‘मासिक ३ प्रतिशतभन्दा बढी प्रगति हुने गरी काम भइरहेको छ।’
सडक विस्तारका लागि माटो फिलिङ गर्ने, बिजुलीको पोल सार्ने काम सँगसँगै भइरहेको छ। सडक विस्तारका लागि आवश्यक पर्ने माटो, ढुंगा, गिट्टीलगायत कच्चा पदार्थको समस्या छैन। माटो तथा ढुंगा, गिट्टीका लागि स्थानीय तहले सहयोग गरेका छन्। ४ वर्षअघि विस्तारको काम शुरू भएको नारायणगढ–बुटवल खण्डको शहरी क्षेत्रमा ४ लेनका अतिरिक्त २ लेन तथा ग्रामीण क्षेत्रमा ४ लेनमा राजमार्ग फराकिलो गरिँदैछ।
दाउन्ने पहाडको ५ किलोमिटर क्षेत्रमा भौगोलिक अवस्थाका कारण सडक ३ लेन विस्तार गर्ने गरी ठेक्का सम्झौता गरिएको छ। -रासस