बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक अवस्था सुधारका लागि सरकारले चाल्ने कदमबारे चासो व्यक्त

विश्व बैंक र एडीबी प्रतिनिधिसँग अर्थमन्त्री महतको छलफल

आर्थिक अवस्था सुधारका लागि सरकारले चाल्ने कदमबारे चासो व्यक्त

नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एडीबीका प्रतिनिधिले ऋण लगानीपछि अगाडि बढेका विकास आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्री महतसँग आग्रह गरेका छन्।
 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाडौं– नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) का प्रतिनिधिले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेका छन्। विश्व बैंकको टोलीले मंगलबार र एडिबीको टोलीले आज बिहान अर्थमन्त्रीसँग छलफल गरेको हो।

छलफलमा दातृ निकायले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न अर्थमन्त्रीसँग आग्रह गरेको अर्थ मन्त्रालयले जनाएको छ।

‘उहाँहरू नेपाललाई सहयोग गर्न उत्साहित हुनुहुन्छ। उहाँहरूको चासो र चिन्ता भनेको दिइएको सहयोग समयमा खर्च हुन सकेन भन्नेमा छ’, आज बिहान एडीबीका देशीय निर्देशक अर्नौड काउसिससँगको छलफलपछि अर्थमन्त्री महतले भने, ‘आयोजनाको जग्गा अधिग्रहण (साइट क्लियरेन्स) समयमा नभएर समस्या भएको छ। त्यस कारण ठेक्का प्रक्रिया अघि बढ्न नसकेको र कामले गति लिन सकेको छैन भन्ने उहाँहरुको चासो छ।’

भेटमा नयाँ विकास आयोजना र कार्यक्रमबारे पनि छलफल भएको उनले बताए। ‘उहाँहरूले विभिन्न क्षेत्रमा सहयोग गर्न चाहन्छौं भन्नुभएको छ। एसियाली विकास बैंकले दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना र विश्व बैंकले माथिल्लो अरुण जलाशययुक्त जलविद्युत् आयोजनामा चासो देखाइरहेका छन्। त्यस्तै, सडक आयोजनामा पनि बजेटरी सहयोगका लागि उनीहरुको चासो छ’, अर्थमन्त्री महतले भने।

नेपालले अनुदान र सहुलियतपूर्ण ऋणलाई बढी प्राथमिकता दिनेबारे विकास साझेदारलाई आफूले जानकारी गराएको मन्त्री महतको भनाइ छ। ‘उहाँहरुले अझै धेरै सहयोग गर्न चाहेको बताइरहँदा हामीले पनि अनुदान र सहुलियतपूर्ण ऋणलाई प्राथमिकतामा राख्ने भनेका छौं। यसमा उहाँहरु सहमत हुनुहुन्छ’, उनले भने।

Metro Mart
worldlink

नेपालको समग्र आर्थिक अवस्था सुधारका लागि सरकारले चाल्ने कदमबारे पनि विश्व बैंक र एडीबीले चासो देखाएका छन्। तत्कालीन आर्थिक समस्या र सरकारको प्राथमिकताबारे अर्थमन्त्रीसँग चासो राखेका थिए। अर्थतन्त्रमा देखिएका समस्या समाधान र मुख्यगरी खर्चिने क्षमतामा देखिएको समस्यालाई विस्तारै हटाउँदै जानेबारे प्रतिवद्ध रहेको अर्थमन्त्री महतले बताए।

अर्थमन्त्रीका रुपमा कार्यभार सम्हालेलगत्तै महतले राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड, निजी क्षेत्रका छाता संगठन, विकास साझेदारलगायत क्षेत्रसँग परामर्श थालेका छन्। तत्कालीन अवस्थामा अर्थतन्त्रमा खस्किएको मनोबल उकास्नु आफ्नो पहिलो काम हुने उनले बताउँदै आएका छन्।

प्रकाशित: Apr 05, 2023| 14:30 बुधबार, चैत २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्