काठमाडौं– बागलुङमा घरमाथि खसेको ट्रयाक्टरले च्यापिँदा एक जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
गलकोट नगरपालिका–११ रिघा मनेवामा घरमाथि ट्रयाक्टर खस्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको मृत्यु भएको हो।
बडीगाड गाउँपालिका–२ खर्बाङ बजारबाट गलकोट नगरपालिका–३ हटियाबजार आउँदै गरेको ध१त६०९ नम्बरको ट्रयाक्टर मध्यपहाडी लोकमार्गबाट घरमाथि खस्दा च्यापिएर सलामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक राजाराम खड्काले बताए। ट्रयाक्टर लोकमार्गदेखि १५ मिटर तल होमबहादुर सिंजालीको घरमाथि खसेको थियो।
प्रहरीले ट्रयाक्टर चालक गलकोट नगरपालिका–९ मा बस्दै आएका २३ वर्षीय डिक्सन पुनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ। घरमाथि खसेको ट्रयाक्टरले पार्किङ गरिराखिएको लु६३प९०९ नम्बरको स्कुटरसमेत क्षतिग्रस्त बनेको छ।