काठमाडौं– चितवनको पर्यटकीय नगरी सौराहामा बाँधिराखिएको एक हात्तीको सुँड काटिएको छ। पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाको उक्त हात्तीको सुँड गए राती काटिएको हो।
सौराहास्थित रेस्टुराँ एन्ड बार एसोिसिएशनका पूर्वअध्यक्षसमेत रहेका खतिवडाका अनुसार गए राती ११ः३० बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको थियो। हात्ती पीडाले कराएपछि हेर्न जाँदा यस्तो घटना देखिएको उनको भनाइ थियो।
हात्तीलाई मार्ने उद्देश्यले नै सुँड काटिएको हुन सक्ने खतिवडाले बताए। उनका अनुसार ४५ वर्षीया चञ्चलकली हात्तीको सुँड ६ इन्च काटिएको छ। बाघमारा सामुदायिक वन जाने बाटोमा तीन वटा हात्ती एकै ठाउँ बाँधेर राखिएकामा चञ्चलकलीको सुँड काटिएको थियो।
काटिएको सुँडको भाग जोड्न नमिल्ने अवस्थामा रहेको र उपचारबारे चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सक तथा प्राविधिकबीच छलफल भइरहेको खतिवडाले बताए।
हात्तीले खान आहारा तान्न र कुनै कुरा टिप्न सुँड प्रयोग गर्दछ। जिल्ला प्रहरी कार्यालयका उपरीक्षक रामेश्वर कार्कीले प्रहरी र निकुञ्ज प्रशासनको सहयोगमा घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। नेपालमा हात्तीको सुँड काटिएको यो पहिलो घटना हो।