काठमाडौं- निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आउने साता हुने ५७ औं वार्षिक साधारणसभा हुँदैछ। यो साधारणसभाले तीन वर्षपछि नेतृत्वमाआउने वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन गर्नेछ।
महासंघको कार्यसमिति ६४ सदस्यीय छ। जसमध्ये जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोसिएट क्षेत्रको प्रतिनिधित्व गर्ने तीन उपाध्यक्ष रहनेछन्। सदस्यमध्येबाट कोषाध्यक्ष चयन हुने व्यवस्था छ भने कार्यकारिणी समितिले विशिष्ट सदस्य मनोनित गर्न सक्ने व्यवस्था रहेको छ।
महासंघको विधानअनुसार जिल्ला नगरबाट ३३ जना, एसोसिएटबाट १९ र वस्तुगतबाट १४ जना सदस्य चुनिनेछन्। यस्तै, द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट एक र संस्थापक सदस्यमध्येबाट एक सदस्य चयन हुने व्यवस्था छ।
चैत २९ गते हुने कार्यसमिति चुनावका लागि उम्मेदवारी दर्ता प्रक्रिया सकिएको छ। महासंघ निर्वाचन समितिले उम्मेदवारी दर्ता गर्नेहरूको सूची प्रकाशन गरेको छ। वरिष्ठ उपाध्यक्ष एक पदका लागि तीन जना प्रतिस्पर्धी देखिएका छन्। वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई, अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन्।
उमेशलाल श्रेष्ठ
जिल्लानगर उपाध्यक्ष एक पदका लागि तीन जना सुरकृष्ण वैद्य, अरूणराज सुमार्गी र दिनेश श्रेष्ठ उम्मेदवार बनेका छन्। वस्तुगत उपाध्यक्ष पदका लागि सकुन्तलाल हिराचन, मनिषलाल प्रधान र हेमराज ढकालले उम्मेदवारी दिएका छन्।
एसोसिएट उपाध्यक्ष एक पदका लागि ज्योत्सना श्रेष्ठ र भरतराज आचार्यको उम्मेदवारी परेको छ। जिल्लानगर सदस्यतर्फ लुम्बिनी प्रदेशमा जम्शेर मिया निर्विरोध भएका छन्। उनी चन्द्रौटा उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गर्छन्।
सबै प्रदेशबाट एक/एक जना सदस्यको कोटा रहेकामा कोशी र कर्णाली प्रदेशमा ३/३ जनाले र मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा २/२ जनाले उम्मेदवारी दिएका छन्।
वस्तुगत संघको तर्फबाट १४ जना सदस्यका लागि २८ जनाले उम्मेदवारी दिएका छन्। वस्तुगततर्फ उमेशलाल श्रेष्ठको प्यानलबाट १४ जनाकै दर्ता भएको छ भने अन्जन र रामचन्द्र टिममा को-को छन् भन्ने खुलाइएको छैन।
उद्योग वाणिज्य संघतर्फ १८ जनाका लागि ३२ जनाले उम्मेदवारी दिएका छन्। एसोसिएटतर्फ १९ जनाका लागि ३० जनाले उम्मेदवारी दिएका छन्।
द्वि-राष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट भने नेपाल-भारत उद्योग वाणिज्य संघको तर्फबाट सुनिल केसी निर्विरोध भएका छन्।
वरिष्ठ उपाध्यक्षमा चर्को प्रतिस्पर्धा
महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अर्को कार्यकालमा अध्यक्ष हुने विधान रहेकाले ५७औं साधारणसभापछि चन्द्रप्रसाद ढकालले नेतृत्व सम्हाल्ने छन् भने तीन वर्षपछिको अध्यक्ष को हुने भन्ने निर्णय यही सभामार्फत हुनेछ।
अञ्जन श्रेष्ठ
यही कारण अहिले वरिष्ठ उपाध्यक्षका लागि सबैभन्दा बढी चुनावी दौड चलिरहेको छ। भावी अध्यक्ष निश्चित भएको र वरिष्ठ उपाध्यक्ष पनि प्रभावशाली पद भएकाले प्रत्यासीहरुले आफ्नो पक्षमा मत पार्न कुनै कसर बाँकी राखेका छैनन्।
वरिष्ठ उपाध्यक्षले निरन्तर रुपमा ६ वर्ष महासंघमा कार्यकारी भूमिकामा रहेर काम गर्नेछन् भने थप तीन वर्ष निवर्तमान अध्यक्षका रुपमा सक्रिय हुनेछन्।
यही भावी अध्यक्षका रुपमा रहेको वरिष्ठ उपाध्यक्ष पदका लागि हालको कार्यकारिणी समितिका उपाध्यक्षहरु अञ्जन श्रेष्ठ (वस्तुगत) र रामचन्द्र संघई (एसोसिएट) र पूर्व वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन्।
तीनैजना प्रतिस्पर्धी प्यानलका लागि उपाध्यक्षहरु (जिल्ला नगर, वस्तुगत तथा एसोसिएट) उपाध्यक्ष र अन्य सदस्यहरुसहित मत मागिरहेका छन्।
वरिष्ठ उपाध्यक्षका बलिया दाबेदार अञ्जन श्रेष्ठ वर्तमान कार्यकारिणी समितिमा वस्तुगततर्फ उपाध्यक्ष छन्। महासंघमा चार कार्यकाल पूरा गरिसकेका श्रेष्ठले यसअघि उद्योग समिति सभापतिसहित विभिन्न समितिमा रहेर काम गरिसकेका छन्। लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठ नाडा अटोमोबाइल्स एसोसिएसनका पूर्वअध्यक्ष हुन्। उनी अटोमोबाइलसहित कन्फेक्सनरी, स्टिल लगायतका उद्योगसँग सम्बन्धित छन्। उनको कम्पनी लक्ष्मी ग्रुपले नेपालमा हुन्डाईका गाडी बेच्छ।
श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी र वस्तुगततर्फ मनिषलाल प्रधानले उम्मेदवारी दर्ता गरेका छन्। एसोसिएट्सतर्फ उपाध्यक्ष पदमा भरतराज आचार्यले उम्मेदवारी दर्ता गरेका छन्।
उम्मेदवारी दर्तापछि वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले महासंघलाई नयाँ उचाइमा पुर्याउन र संस्थाको व्यावसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन आफूले उम्मेदवारी दिएको बताए। 'अर्थतन्त्र लथालिंग भएको अवस्थामा व्यवसायीका समस्याहरु सुनिनुपर्छ र यसका लागि महासंघलाई सबै तहका उद्योगी–व्यवसायीहरुको पहुँचमा हुनेगरी काम गर्नुपर्छ। अहिलेको युवा जोश र जाँगरका साथ संस्थालाई गति दिने नेतृत्वको खाँचो छ,' उनले भने।
अर्का उम्मेदवार उमेशलाल श्रेष्ठ महासंघको अघिल्लो कार्यकालका उपाध्यक्ष हुन्। औषधी उद्योगी श्रेष्ठको लगानी रबर खेतीलगायतका व्यवसायमा पनि छ। उनी यसअघि अञ्जन श्रेष्ठसँगै उपाध्यक्षमा पराजित भएका थिए।
श्रेष्ठले आसन्न निर्वाचनका लागि जिल्लानगर उपाध्यक्ष पदमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एसोसिएट उपाध्यक्षमा भरतराज आचार्यको प्यानल घोषणा गरेका छन्। आचार्य भने अञ्जन श्रेष्ठ प्यानलका पनि साझा उम्मेदवार हुन्।
‘सक्षम निजी क्षेत्र, समृद्ध अर्थतन्त्र’ नारा लिएर चुनावी मैदानमा उत्रिएका श्रेष्ठले कमजोर पुँजीगत खर्च, व्यापार घाटा, बेरोजगारी, मूल्यवृद्धि, कमजोर पूर्वाधार, भ्रष्टाचार, निर्यात व्यापार, कमजोर व्यावसायिक वातावरण लगायतलाई अर्थतन्त्रका चुनौतीका रुपमा रहेको बताएका छन्।
अहिले निजी क्षेत्र एकदमै समस्याबाट गुज्रिरहेको र जसका कारण अर्थतन्त्रमा समस्यामा परेको उनको भनाइ छ। अहिले सरकारले उद्योगी–व्यवसायीको मनोबल उच्च बनाएर देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्थामा विभिन्न खालमा समस्या सिर्जना गरेर हतोत्साहित गरेको भन्दै आफू निर्वाचित भएलगत्तै व्यावसायिक हकहितका एजेण्डा बोकेर समाधानका लागि सरकारसँग छलफलमा बस्ने जानकारी उनले दिए।
रामचन्द्र संघई
प्यानलसहितै वरिष्ठ उपाध्यक्षमा भिड्न लागेका रामचन्द्र संघई वर्तमान कार्यकारिणी समितिमा एसोसिएट उपाध्यक्ष हुन्। संघईले महासंघ कार्यकारिणी समितिमा दुई दशक काम गरेका छन्। औद्योगिक तथा व्यापारिक घराना ‘त्रिवेणी ग्रुप’का सञ्चालक उनको समूहले खाद्यान्न, चिया, सिमेन्ट लगायतका उत्पादन तथा अटोमोबाइल लगायतका व्यवसाय गर्छ।
संघईको प्यानलमा जिल्लानगर उपाध्यक्षका रुपमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले उम्मेदवारी दिएका छन्। आफूले निर्वाचनका लागि विभिन्न जिल्ला पुगेको बताउँदै व्यवसायीको समर्थनले उत्साहित भइरहको उनले बताएका छन्।
निजी क्षेत्रसँग जोडिने सबैभन्दा महत्वपूर्ण सरोकार श्रम सम्बन्ध व्यवस्थापनका लागि एसोसिएटको भूमिका धेरै हुने र आफूले त्यसका बारेमा अनुभव गरेकाले चुनावबाट निर्वाचित भएपछि काम गरेर देखाउने उनको दाबी छ।