शनिबार, वैशाख २०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • गृहमन्त्री नारायणकाजीले गरे सशस्त्र प्रहरी बलको हलचोक मुख्यालय निरीक्षण

गृहमन्त्री नारायणकाजीले गरे सशस्त्र प्रहरी बलको हलचोक मुख्यालय निरीक्षण

सशस्त्र प्रहरी बललाई सीमाको डेडिकेटेड फोर्स बनाउन अन्तर्राष्ट्रिय मापदण्डसहितका थप बिओपी स्थापना, अहिलेका बिओपीको स्तरवृद्धि गरिने गृहमन्त्री नारायणकाजीको प्रतिबद्धता।
 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बलको हलचोकस्थित मुख्यालय निरीक्षण गरेका छन्।

मंगलबार सशस्त्र प्रहरी बलको मुख्यालय पुगेका गृहमन्त्री श्रेष्ठले शान्ति, सुरक्षा र प्रतिबद्धताको मूल मन्त्रलाई आत्मसात् गरी नागरिकको सुरक्षा, सीमा सुरक्षा, राजस्व सुरक्षा, औद्योगिक सुरक्षा कायम गर्न संगठनबाट भइरहेको कार्यप्रति सराहना व्यक्त गरे।

सशस्त्र प्रहरी बलले राज्यले सुम्पिएका जिम्मेवारी र भइपरी आउने विषम परिस्थितिमा क्षमता, व्यावसायिकता र उच्च पेसागत दक्षता प्रदर्शन गरी राज्यको उत्कृष्ट सुरक्षा निकायका रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल रहेको बताए।

उनले सशस्त्र प्रहरी बललाई निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत मुलुकको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन थप मिहिनेतका साथ कार्यसम्पादन गर्न सुझाए।

संगठनलाई सरकारले तोकेको जिम्मेवारीअनुरुपको कार्य प्रभावकारी ढंगले सम्पादन गर्न मौजुदा दरबन्दी संरचना पुनर्संरचना गर्ने गरी संगठन तथा व्यवस्थापन कार्यलाई अगाडि बढाउन गृह मन्त्रालयको सहयोग रहिरहने मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाए। 

Metro Mart
worldlink

सशस्त्र प्रहरीले न्यून सेवा–सुविधा र अपर्याप्त स्रोत–साधनका बाबजुद कतिपय ठाउँमा भाडाको घर, अस्थायी संरचनामा बसेर, कतिपय ठाउँमा जीर्णावस्थाका आवास तथा भवनबाट नागरिकलाई सेवा र सीमा सुरक्षा गरिरहेकामा उनले प्रशंसा गरे।

भौतिक पूर्वाधार निर्माण र संगठनको क्षमता बढाउने विषयमा गृह मन्त्रालयको तर्फबाट आवश्यक सहयोग रहने उनले विश्वास दिलाए। सशस्त्र प्रहरी बललाई सीमाको डेडिकेटेड फोर्स बनाउन अन्तर्राष्ट्रिय मापदण्डसहितका थप बिओपी स्थापना, अहिलेका बिओपीको स्तरवृद्धि गर्दै समग्र संगठनलाई  प्रविधिमैत्री एवं चलायमान बनाउनुपर्ने गृहमन्त्री नारायणकाजीको भनाइ छ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षा आफैंमा जटिल, संवेदनशील र चुनौतीपूर्ण विषय भए पनि संगठनले सरकारको निर्देशनअनुसार काम गर्दै आएको जानकारी दिए।

प्रकाशित: Apr 04, 2023| 16:38 मंगलबार, चैत २१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्