बुधबार, वैशाख १७, २०८२

'स्मार्ट लिडरसिपका लागि म र मेटो टिम'

महासंघको वरिष्ठ उपाध्यक्षका लागि तीनजना व्यवसायी चुनावी मैदानमा छन्। अन्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठ प्यानलसहित मैदानमा उत्रिएका हुन्।
 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

काठमाडौं- नेपालका उद्योगी, व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अन्जन श्रेष्ठले जीवन्त, जिम्मेवार र जुझारु नेतृत्वका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन्। मुलुक विषम परिस्थितिमा रहेको बताउँदै उनले समस्याग्रस्त अर्थतन्त्र उकास्नका लागि पनि सक्षम नेतृत्वको आवश्यकता रहेको औंल्याए।

'कोरोना महामारीपछि नेपालको अर्थतन्त्र धरमराउँदो अवस्थामा छ। सबै व्यवसायी पीडामा छन्। त्यसका बाबजुद पनि व्यवसायीहरू धैर्य हुनुहुन्छ,' उनले भने, 'नेपाल उद्योग वाणिज्य महासंघको ५७औं साधारणसभा यही चैत २८ र २९ गते हुँदैछ। साधारणसभापछि व्यवसायीका समस्या समाधान गर्दै मुलुकको अर्थतन्त्र उकास्न हामी लाग्नु पर्नेछ। यही धरमर अर्थतन्त्र उकास्न मैले टिमसहित उद्योग वाणिज्य संघको उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएको छु।' 

सरकारले जारी गरेको जनगणनाको तथ्यांकअनुसार सक्रिय जनसंख्याको २९ प्रतिशत जनसंख्या सक्रिय नरहेको उनले बताए। कामै नगरेर २९ प्रतिशत जनसंख्या निस्क्रिय हुने अवस्था सिर्जना हुनु मुलुकका लागि दुर्भाग्यपूर्ण रहेको श्रेष्ठको भनाइ छ। अर्कोतर्फ देशमा सम्भावना नदेखेर सक्रिय जनसंख्या भारत पलायन हुनु पनि मुलुकका लागि दुखद् भएको उनले बताए। त्यस्ता युवाहरूलाई देशमै उद्यमतर्फ आकर्षण गर्न सके मुलुकले काँचुली फेर्न सक्ने उनको धारणा छ।

'हाम्रो देशमा युवाको संख्या धेरै छ। यहाँको कुल जनसंख्यामध्ये मध्यम उमेर समूहका मानिस २४.५ प्रतिशत छन्। यस्तो अवस्थामा यो युवा जनशक्तिलाई हामीले उपयोग गर्न सक्नुपर्छ। पलायन भइरहेका युवालाई रोक्न सक्नुपर्ने चुनौती पनि हाम्रासामु छ। राज्यले गर्नुपर्ने अवस्थासँगै हामी निजी क्षेत्रले पनि यस्ता काममा प्रगति हासिल गर्नुपर्ने आफ्नै दायित्व छ,' उनले भने। पछिल्लो तथ्यांकअनुसार सहकारी बाहेक पनि मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका ८० प्रतिशत पुगेको उनले स्मरण गरे।

उनले मुलुकको आर्थिक क्षेत्रमा ८० प्रतिशत भूमिका निर्वाह गरेको निजी क्षेत्रले नयाँ सोच, विचार र ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताए। आफू नेतृत्वको टिमले विजय हासिल गरेको अवस्थामा आफ्नो ध्यान त्यसतर्फ नै केन्द्रित हुने उनको दाबी छ। उनले आफ्नो टिमबाट जिल्लानगरको उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगतको उपाध्यक्षमा मनिषलाल प्रधान र एसोसिएटमा भरतराज आचार्यलाई अघि सारेका छन्। 'व्यवसायीका समस्या समाधानका लागि म केन्द्रित हुनेछु। अहिलेको परिवर्तित समय डिजिटलबाट पनि स्मार्टतर्फ गइसकेको छ। त्यसैले स्मार्ट लिडरसिप चाहिएको छ। स्मार्ट लिडरसिप दिनलाई हाम्रो टिम अगाडि आएको छ,' उनले भने।

Metro Mart
worldlink

श्रेष्ठ नेतृत्वको टिमका केन्द्रीय सदस्यका उम्मेदवार शिवप्रसाद घिमिरेले केही वर्ष पहिलेको भारतले गरेको अघोषित नाकाबन्दी, भूकम्प र कोरोना महामारीलगायत घटनाक्रममले मुलुकको अर्थतन्त्र निकै नै प्रभावित बनेको स्मरण गरे। आर्थिक तरलता र अस्थिर राजनीतिका कारण निजी क्षेत्र निकै आक्रान्त भएको उनको दुखेसो छ। 'अहिले मुलुकको अर्थतन्त्र इतिहासकै अप्ठ्यारो अवस्थामा पुगेको छ। अहिले व्यवसायका सबै क्षेत्रमा ८० प्रतिशतसम्म कारोबार घटेको अवस्था छ। महँगी भएको र ब्याजदर बढेकाले पनि व्यावसायीहरू निकै मर्कामा परेका छन्,' उनले भने। 

आम्दानी घट्ने र घर्च बढ्ने अवस्थामा उद्योग वाणिज्य महासंघको छातामुनि रहेका साना, मझौला र ठूला व्यवसायीहरू प्रभावित भएको बताउँदै उनले नयाँ नेतृत्वले उनीहरूको संरक्षण गर्नुपर्ने र सोही अभिभाराका साथ आफूहरू चुनावमा होमिएको बताए। विषम परिस्थितिबाट माथि उकास्न राज्यसँग सहकार्य गरेर अगाडि बढ्ने आफूहरूको योजना रहेको उनले सुनाए। यो अवस्थालाई सहजतामा परिणत गर्नका लागि आफूहरूको पनि दायित्व भएको उनको भनाइ छ।

श्रेष्ठ प्यानलकै केन्द्रीय सदस्य पदकी उम्मेदवार शोभा ज्ञवालीले निर्वाचित भइसकेपछि महिला उद्यमीको व्यापार प्रवर्द्धनमा केन्द्रित हुने बताइन्। 'महिलको व्यापारलाई कसरी बढाउने र उनीहरूका सामानलाई कसरी अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने, व्यवसायको विकास र विस्तारमा के गर्न सकिन्छ भनेर अहिले पनि विभिन्न संस्थामा आवद्ध भएर काम गरिरहेकी छु,' उनले भनिन्।

कोशी प्रदेशबाट श्रेष्ठको टिमका उम्मेदवार रहेका नरेन्द्र कुमार खड्काले वर्तमान कार्यसमितिबाट जनताले मुलुकको अर्थतन्त्रलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको बताए। उनले जनताको उक्त अपेक्षालाई आफूहरूले जीवन्त राख्न सक्नुपर्ने धारणा राखे। उनले आफू जिल्लानगरबाट लामो समय उद्योग वाणिज्य संघमा आवद्ध रहेको बताउँदै जिल्ला नगरका उद्योग वाणिज्य संघ र व्यवसायीका समस्या समाधानमा आवाज उठाउन महत्त्वपूर्ण भूमिका रहने बताए। उनले जिल्लाको मनोभावना अनुसार काम गर्ने प्रतिवद्धता जनाए।

श्रेष्ठको टिममा रहेर जिल्ला नगरको उपाध्यक्ष पदका उम्मेदवारी दिएका अरुणराज सुमार्गीले देशको अर्थतन्त्रको बारेमा महासंघ न्यून रुपमा बोलिरहेको गुनासो गरे। जिल्लामा व्यावसायीहरू सटर बन्द गरेर बैंकमाथि धावा बोल्नु परिरहेको अवस्था निकै कठिन भएको उनले सुनाए। यो समयमा जिल्लाका व्यवसायीको समस्या समाधानका लागि महासंघले बुलन्द आवाज उठाउनुपर्ने उनको भनाइ छ।

'विश्व अर्थतन्त्रमा नै संकुचन आएको छ। त्‍यसको प्रभाव नेपालमा पनि परेको छ। यो समस्या समाधानका लागि सरकार, राष्ट्र बैंकलगायतका निकायसँग बसेर समन्वय गर्नु आवश्यक छ। सरकारले यस्तो अवस्थामा व्यवसायीहरूको मनोबल बढाउने काम कसरी गर्छ भन्ने कुरा गर्न आवश्यक छ। नभए हामीले आन्दोलनको नयाँ प्ररुप ल्याउनुपर्छ,' उनले भने। उनले निजी क्षेत्र करदाता र रोजगारदाता भएको अवस्थामा पनि सरकारले नहेरेको गुनासो गरे। यो समस्या समाधानका लागि आफूहरूले नेतृत्वमा गइसकेपछि समन्वयकारी भूमिका निर्वाह गर्ने उनको दाबी छ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि तीनजना व्यवसायी चुनावी मैदानमा छन्। अन्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठ प्यानलसहित मैदानमा उत्रिएका हुन्। महासंघमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा अध्यक्ष हुने भएकाले यही पदका लागि चर्को प्रतिस्पर्धा हुने गर्छ। हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल आगामी साधारणसभापछि स्वत: अध्यक्ष हुनेछन्। 

 

प्रकाशित: Apr 04, 2023| 14:07 मंगलबार, चैत २१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्