बिहीबार, असार ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पूर्वन्यायाधीशको नेतृत्वमा बन्यो मिटरब्याज पीडित समस्या समाधान छानबिन आयोग

पूर्वन्यायाधीशको नेतृत्वमा बन्यो मिटरब्याज पीडित समस्या समाधान छानबिन आयोग

मिटरब्याज पीडितको समस्या समाधान गर्न गठन हुने आयोगको मुकाम मधेस प्रदेश राजधानी जनकपुरधाममा रहनेछ।
 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

काठमाडौं– सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न छानबिन आयोग गठन गर्ने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याज पीडितको समस्याबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बताएकी हुन्।
सञ्चारमन्त्री शर्माले भनिन्, ‘देशमा देखिएको मिटरब्याज पीडितको समस्या समाधान गर्नेतर्फ मन्त्रिपरिषद् केन्द्रित छ। यस विषयमा छानबिन गर्न आयोग गठन गर्ने निर्णय भएको छ।’ छानबिन आयोगको सदस्यमा उत्तमराज सुवेदी र गणेशबाबु अर्याल रहेका छन्।
उनले आयोगलाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधि मन्त्रिपरिषद् बैठकले तोकेको जानकारी दिइन्। मन्त्री शर्माले ठोस र मूर्त रूपमा मिटरब्याज पीडितको समस्या पहिचान गर्न र वास्तविक पीडितको आधिकारिक आँकडा तत्काल ल्याउने गरी आयोगलाई अधिकार दिइएको उल्लेख गरिन्। उनका अनुसार मिटरब्याज पीडितको समस्या समाधान गर्न आयोगको कार्यालय जनकपुरमा राखिनेछ। 
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार मिटरब्याज पीडितसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समस्या समाधान गरिने आश्वासन दिएका थिए। शनिबार गृह मन्त्रालयमै सरकार र आन्दोलनरत मिटरब्याज पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको थियो।
 

प्रकाशित: Apr 04, 2023| 11:18 मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्