काठमाडौं- रामेछापको गोकुलगंगा गाउँपालिका–४ बेतालीमा एक वृद्धको हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार १३ गते ७:३० बजे ८४ वर्षीय सम्शेरबहादुर थापामगरको खुकुरी प्रहार गरी हत्या भएको थियो।
जिल्ला प्रहरी रामेछाप र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त टोलीले थापामगरको हत्या आरोपमा स्थानीय ४ जनालाई नियन्त्रणमा लिएको हो। हत्या आरोपमा ४५ वर्षीया रामपियारी खड्का, ६२ वर्षीय मानबहादुर मगर, ५२ वर्षीय नेत्रबहादुर थापामगर र ४५ वर्षीया अनिता भनिने मनोमाया थापामगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको र घटना प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। खुकुरी प्रहारबाट उनको टाउकोमा गहिरो चोट लागेको थियो।