शुक्रबार, असार ६, २०८२

सन्दीपविरुद्धको बलात्कार मुद्दामा मंगलबार अन्तिम सुनुवाइ

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ।
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा अन्तिम सुनुवाइका लागि मंगलबारलाई पेसी तोकिएको छ। सर्वोच्च अदालतले लामिछानेविरुद्धको मुद्दा 'फास्ट ट्र्याक'बाट किनारा लगाउन आदेश दिए पनि हालसम्म अन्तिम सुनुवाइ सुरु भएको छैन। 

चैत १३ गते अन्तिम सुनुवाइका लागि पेसी तोकिएकोमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए। 

त्यसपछि पुनः मंगलबारका लागि सुनुवाइ पेसी तोकिएको हो। लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ। सन्दीपले गत भदौ ५ गते राति सिनामंगलस्थित एक होटलमा लगेर बालिकालाई पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ। नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो।

जाहेरीको केही समयपछि पक्राउ परेका सन्दीपलाई कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए। उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो।

रिहाइपछि उनी राष्ट्रिय-अन्तर्राष्ट्रिय म्याच खेलिरहेका छन्।

प्रकाशित: Apr 03, 2023| 18:27 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्