काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। श्रेष्ठले आज ललितपुरमा कार्यक्रम गरी आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन्।
श्रेष्ठको प्यानलमा एसोसिएट उपाध्यक्षतर्फ भरत आचार्य छन्। यस्तै, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षको उम्मेदवारमा हेमराज ढकाल छन्।
महासंघको साधारणसभा तथा निर्वाचन यही चैत २८ र २९ गते काठमाडौंमा आयोजना हुँदैछ। वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वत: अध्यक्ष हुने महासंघको विधान छ। त्यसकारण यो पदमा चर्को प्रतिस्पर्धा हुने गरेको छ।
तीन ३ जना व्यवसायी वरिष्ठ उपाध्यक्षको दौडमा छन्। यीमध्ये रामचन्द्र संघईले हिजो आइतबार प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन्। संघईको टिममा एसोसिएट उपाध्यक्षको उम्मेदवारमा ज्योत्सना श्रेष्ठ छिन् भने जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचन छन्।
वरिष्ठ उपाध्यक्षमै उम्मेदवारी घोषणा गरेका अञ्जन श्रेष्ठको प्यानलमा भने एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे छन् भने वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी छन्।