काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माण प्रक्रियामा रहेको बताएकी छन्। सोमबार रेडियो नेपालको ७३औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेकी शर्माले आमसञ्चार ऐन, मिडिया काउन्सिल ऐनलगायत आवश्यक कानुन विज्ञ र सम्बन्धित निकायको सल्लाह र सुझावका आधारमा तयार गर्ने काम भइरहेको बताएकी हुन्।
रेडियो नेपाल, गोरखापत्र, नेपाल टेलिभिजन सञ्चारका महत्त्वपूर्ण माध्यम भएको बताउँदै सरकार सार्वजनिक प्रसारण माध्यम (पीएसबी) विधेयकलाई अगाडि बढाउने तयारीमै रहेको जानकारी दिइन्। सूचना, सञ्चार प्रविधिको दुरुपयोग नभई सदुपयोग गर्न उनले आग्रह गरिन्। उनले रेडियो नेपालले अझै सन्देशमूलक कार्यक्रम उत्पादन गरेर शतप्रतिशत जनताको पहुँचमा जानुपर्ने आवश्यकता औंल्याइन्।
रेडियो नेपालको महत्त्वबारे चर्चा गर्दै उनले भनिन्, ‘सूचना र सञ्चारका हिसाबले हामी निकै कमजोर थियौं। हाम्रो गाउँ–ठाउँमा इन्टरनेटको पहुँच थिएन। ती ठाउँमा सूचना, मनोरञ्जनको, समाचारको भरपर्दो माध्यम भनेको रेडियो नेपाल मात्रै विकल्प थियो र अहिलेको परिस्थितिमा पनि सञ्चारको भरपर्दो साधन रेडियो नेपाल नै हो।’
रेडियो नेपालले बदलिँदो समयअनुसार आफूलाई पनि परिमार्जन गर्दै लगेको उल्लेख गर्दै उनले अझै कतिपय अवस्थामा थप परिमार्जनको आवश्यकता औंल्याइन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशीतालगायत मुलुकमा प्राप्त उपलब्धि जोगाउन, त्यसलाई संस्थागत गर्न र जनतासम्म पुर्याउन रेडियो नेपालको महत्त्वपूर्ण भूमिका हुने बताइन्।
उनले भनिन्, ‘विगतमा सूचना, सञ्चार प्रविधिको विकास नभएका बेला जनताको साथी भएको रेडियो नेपाल आजको परिवर्तित सन्दर्भमा त्यसलाई नयाँ ढंगले श्रोतामैत्री बनाउने, जनताको भरपर्दो सूचनाको माध्यम कसरी बनाउने भन्ने विषयमा ध्यान दिन जरुरी छ।’
सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउने तयारीमा रहेको अवस्थामा नयाँ योजना तयार गर्न रेडियो नेपाललाई निर्देशन दिइन्। २० चैत २००७ मा स्थापना भएको रेडियो नेपालले हाल २१ भाषामा समाचार र २० भाषामा कार्यक्रम एवं समयसापेक्ष गीतसंगीतलगायत कार्यक्रम प्रस्तुत गर्दै आएको छ।