शुक्रबार, असार ६, २०८२

प्रहरी मुख्यालय निरीक्षणमा पुगे गृहमन्त्री नारायणकाजी

प्रहरीप्रति नागरिकको विश्वास कायम राखिराख्न बर्दी र फुलीमा आँच आउन दिन नहुने गृहमन्त्री श्रेष्ठको धारणा।
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

काठमाडौं– प्रहरीको बर्दी र काँधको फुलीमा सर्वसाधारणको भरोसा र विश्वास लुकेको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्। सोमबार नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालय निरीक्षण गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

उनले भने, ‘तपाईंहरुले शरीरमा लगाएको बर्दी र काँधमा लगाएको फुलीमा सर्वसाधारणको भरोसा र विश्वास लुकेको छ। स्वच्छ, निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत नागरिकको भरोसा र विश्वासलाई कायम राख्न अझ मिहिनेत गर्नुहुनेछ भन्ने आश छ।’

गृहमन्त्री श्रेष्ठले सरकारको प्रतिनिधिको रुपमा सर्वप्रथम जनतामाझ पुग्ने प्रहरी भएको बताए। उनले सरकारको प्रतिनिधिको रुपमा नागरिकसँग प्रथम सम्पर्क हुने हुँदा कार्यस्थलमा सुरक्षाकर्मीले गर्ने व्यवहारबाट नागरिकको सरकारप्रतिको धारणा निर्माण हुने उल्लेख गरे।

तस्करी र राजस्व चुहावट नियन्त्रणमा प्रहरीको भूमिका स्मरणीय र उल्लेखनीय रहेको बताउँदै उनले यसको गुणात्मक वृद्धिका लागि कारबाही गर्न निर्देशन दिए। 

गृहमन्त्री श्रेष्ठले मुलुकमा शान्ति–सुरक्षा स्थापना गर्न, नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्न, महिला बालबालिका, ज्येष्ठ नागरिकको पूर्ण सुरक्षा प्रत्याभूति गर्ने क्रममा तथा आमनागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन–कानुनले निर्दिष्ट गरेका जिम्मेवारीलाई पूर्ण पालना गरी कानुनी राज्यको प्रत्याभूति दिन पनि निर्देशन दिए।

उनले सीमित स्रोत–साधन, न्यून जनशक्ति र अपर्याप्त भौतिक पूर्वाधारका बाबजुद पनि नेपाल प्रहरीले शान्ति सुरक्षा, अपराध नियन्त्रण, महामारी नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, खोज उद्धार तथा राहतलगायतका प्रतिकार्यमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको धारणा व्यक्त गरे।

उनले प्रहरीलाई विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि सदैव तयारी अवस्थामा रहन सुझाए। मिटरब्याजबाट पीडितको उजुरी समयमै  अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र पीडितलाई उचित न्याय दिलाउने कार्यलाई उच्च प्राथमिकताका राखी कार्यसम्पादन गर्न उपस्थित प्रहरी अधिकृतलाई उनले निर्देशन दिए।

गृहमन्त्री श्रेष्ठलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरुलगायत वरिष्ठ प्रहरी अधिकृतले स्वागत गरेका थिए।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलिग्राफ सेक्सन, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याब निरीक्षणका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिए।

निरीक्षणपछि आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले उपस्थित प्रहरी अधिकृत तथा जवान एवं भिडियो कन्फेरेन्समार्फत सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख, गण प्रमुखहरू, तालिम केन्द्रका प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख तथा सबै जिल्लाका प्रहरी प्रमुखलाई निर्देशन सम्बोधन गरे।

उनले प्रहरीको पदस्थापन, बढुवा, सरुवालाई अधिकतम प्रणालीगत र संस्थागत ढंगले आगाडि बढाउन गृह मन्त्रालयले आवश्यक पहल गर्ने विश्वास दिलाए।
कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले गृहमन्त्रीबाट प्रहरीको सांगठनिक अभिवृद्धि तथा प्रहरी कर्मचारीको वृत्ति विकासलगायत विषयमा प्राप्त निर्देशनका लागि दिए।

कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृह मन्त्रालयका प्रवक्ता, प्रहरी नायव महानिरीक्षक एवं वरिष्ठ प्रहरी अधिकृत, सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलगवायतको उपस्थिति थियो।

प्रकाशित: Apr 03, 2023| 16:26 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्