काठमाडौं– मिटरब्याजविरुद्धको सघंर्ष समितिको झन्डामुनि गोलबद्ध भएर २ चैत महोत्तरीबाट पैदल यात्रा थालेका मिटरब्याज पीडित गत १२ चैतमा काठमाडौं आएका थिए। उनीहरु काठमाडौं आउनुको मूल कारण केन्द्र सरकारको मुकाम सिंहदरबारलाई खबरदारी गर्नु थियो।
१२ चैतमा काठमाडौं टेकेका उनीहरुलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले दोस्रो दिन तीनथानामै पुगेर दुःखसुख सोधपुछ गरे। मिटरब्याज पीडितको साथमा रहेको भन्नसमेत भ्याए।
तर सोमबार मात्रै प्रहरीले उनै राउतको पार्टीका केन्द्रीय सदस्य मिटरब्याजी साहू सुरेन्द्र महतोलाई सप्तरीको राजविराजबाट पक्राउ गरेको छ।
सर्वसाधारणलाई मिटरब्याजबाट घरबारविहीन बनाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। डेरी व्यवसायीसमेत रहेका उनीमाथि ठगी मुद्दा चलिरहेका बेला पक्राउ गरिएको सप्तरीका डीएसपी नरेशकुमार सिंहले बताए।
गत शनिबार मात्रै सरकारले मिटरब्याज पीडितका माग सम्बोधन गर्न ५ बुँदे सहमति गरेपछि उनीहरु घर फर्किइसकेका छन्।