बैतडी- बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गणमेश्वरबाट देहिमाडौं आउँदै गरेको से१ज २९५ नम्बरको जीप आज बिहान ११ बजे पञ्चेश्वर गाउँपालिका-५ तिलकपुर भिटा भन्ने ठाउँमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका-५ मसिना बस्ने ५५ वर्षीय महादेव भट्टको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। १२ जना सवार जीप ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जीप सडकबाट ७० मिटर तल खसेको थियो।
दुर्घटना परेर घाइते भएकाहरूको उद्धार भइरहेको छ। घाइतेहरूको परिचय खुल्न सकेको छैन।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीलगायत ३० जनाको टोली घटनास्थलमा पुगेर उद्धारमा जुटिरहेको छ।