काठमाडौं- 'एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद' वैशाख ९ गते काठमाडौंमा हुने भएको छ।
कार्यक्रमको नाम 'एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम' राखिएको छ। बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कार्यक्रमका बारेमा जानकारी गराएको छ। कार्यक्रममा दिइएको जानकारीअनुसार कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन्।
आर्थिक परिसंवाद कार्यक्रममा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, गभर्नर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख, अर्थविद्, बैंकर लगायतको सहभागिता रहनेछ। ‘अर्को चरणको आर्थिक सुधारमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक परिसंवाद आयोजना गरिएको हो,’ बाह्रखरीका प्रधान सम्पादक प्रतीक प्रधानले भने।
कर्पोरेट गल्फ प्रतियोगिताका विजेतालाई प्रदान गरिने सुनको बल गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे। प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फर उपस्थित हुनेछन्।
बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यका अनुसार एनसेल बाह्रखरी गल्फ प्रतियोगितामा एक सय दश जनासम्म खेलाडी सहभागी हुन सक्नेछन्। उनका अनुसार काठमाडौंमा चार सय बढी कर्पोरेट गल्फर छन् त्यसमध्ये अधिकांश यो खेलमा सहभागी हुन चाहन्छन्। प्रतियोगितामा ‘खेलाडी छनोट समिति’ले छनोट गरेकाले मात्रै भाग लिन पाउनेछन्।
प्रतियोगिताामा सहभागी गल्फरले गोकर्ण गल्फ क्लबको १८ होलमा ‘स्टेबल फोर्ड फर्म्याट’मा प्रतिस्पर्धा गर्नेछन्। यसको अर्थ कुनै पनि होलमा तोकिएको भन्दा बढी स्ट्रोक हान्न पाइने छैन। कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे भने ‘होल इन वन’ पुरस्कारका रूपमा हुन्डाईको भेन्यू गाडी प्राप्त गर्नेछन्।
‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल टुरिजम बोर्डबीच सहकार्य भएको छ।